• मंसिर १२ २०८१, बुधबार

शिक्षक र विद्यार्थीलाई कोरोना सङ्क्रमण देखिएपछि परीक्षा स्थगित

चैत्र १२ २०७७, बिहीबार

पोखरा । विद्यार्थी र शिक्षकलाई कोरोना संक्रमण देखिएपछि लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा स्थगित भएको छ ।

क्याम्पस प्रशासक खेमबहादुर पुलामीका अनुसार ७७ विद्यार्थी र २ जना शिक्षकलाई कोरोना देखिएपछि पहिलो चरणको परीक्षा रोकिएको हो  । उनले भने, ‘स्नातक तहको पहिलो, दोस्रो र तेस्रो वर्षको परीक्षा पोस्टपेन्ट गरिएको छ, चौँथो वर्षको चाहिँ भोलिबाट सुरु हुँदै छ, प्रशासनहरु सबै खुलेकै छ ।’

शंका लागेपछि एक विद्यार्थीले पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।  त्यसपछि उनको सम्पर्कमा आएका १९ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा सङ्क्रमण देखिएको थियो । त्यस्तै चैत ३ गते ११९ जनाकाे पिसिआर परीक्षण गर्दा ३२ जना, ७ गते ६ सय १३ जनाकाे पिसिआर परीक्षण गर्दा ३५ जनामा काेराेना पाेजेटिभ देखिएकाे थियो । त्यसपछि ५९ जनाकाे र ४० जनाकाे पिसिआर गर्दा १/१ जनामा काेराेना पाेजेटिभ देखिएकाे पुलामीले जानकारी दिए ।

संक्रमित विद्यार्थीहरू अहिले क्याम्पसभित्रकै आइसोलेसनमा छन्  । उनीहरूलाई क्याम्पसले खानेबस्नेदेखि अन्य व्यवस्थापन गरेको छ  । अरू होम आइसोलेसनमा छन्  । परीक्षा स्थगित भएपछि रिपोर्ट नेगेटिभ आएकालाई घरमै बस्न भनिएकाे कम्पसले जनाएको छ ।

अहिले उनीहरु स्वास्थ्यकर्मीको निगरानीमै भएको र उनीहरुको अवस्था सामान्य भएको बताइएको छ। क्याम्पसमा साढे १७ सय विद्यार्थी छन् ।