• असार ४ २०८२, बुधबार

भागरथीको स्वाबसँग अभियुक्त दिनेशको डिएनए मिल्यो

चैत्र १२ २०७७, बिहीबार

काठमाडौँ।  बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्टको ‘भजाइनल स्वाब’सँग अभियुक्तको डिएनए मेल खाएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा पुर्पक्षका लागि बाल सुधार गृहमा राखिएका अभियुक्त दिनेश भट्टको डिएनए र भागरथीको भजाइनल स्वाब मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

दिनेशलाई पुर्पक्षका लागि डोटीको दीपायलस्थित सुधार गृहमा राखिएको छ । सुधार गृहमा रहेका वेला अभियुक्तले बयान फेरेका थिए । अभियुक्त दिनेशले भागरथीको हत्यामा आफ्नो संग्लनता नरहेको र हत्यामा संग्लन व्यक्तिलाई आफूले देखेको भन्दै बताएका थिए ।

त्यसअघि भने दिनेशले आफूले हत्या स्वीकार गरेको भन्दै प्रहरीले फागुन ४ गते उनलाई सार्वजनिक गरेको थियो । सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपकराज भट्टकै अगाडि उनले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेका थिए । सनातन धर्म मावि खोचलेकबाट माघ २१ गते घर फर्किने बेला हराएकी भागरथीको २२ गते शव भेटिएको थियो । पोष्टमार्टमपछि भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।