काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा उद्योगपति राजेशकुमार अग्रवाल नेकपा ९एमाले०मा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अग्रवाललाई खादा लगाई पार्टीमा स्वागत गरेका थिए । स्वागतपश्चात् पार्टीमा अग्रवालबाट राम्रो भूमिका निर्वाह हुने प्रधानमन्त्रीले विश्वाससमेत व्यक्त गरेका थिए ।
अग्रवाल अर्घाखाँची सिमेन्ट र श्री स्टिल प्रालिको महाप्रबन्धक समेत हुन् । भैरहवा निवासी ४९ वर्षीय अग्रवाल लामो समयदेखि उद्योग व्यवसायीको हितमा कार्यरत छन् भने उनी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पनि हुन् ।
यसअघि कुनै राजनीतिक दलसँग आबद्ध नभएका उनले प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि मुलुकलाई नेतृत्व दिइरहेकाले पार्टी एमालेमा प्रवेश गरेको बताए । ‘प्रधानमन्त्रीको कदममा हामी उद्योग व्यवसायीले पनि साथ दिनुपर्छ भन्ने लागेर पार्टीमा प्रवेश गरेको हुँ’, उनले भने ।