• बैशाख १८ २०८३, शुक्रबार

पत्रकार केन्द्रले पेरिस कम्युन स्थापनाको स्मरण गर्यो

चैत्र ५ २०७७, बिहीबार

अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले १८७१ मा फ्रान्सको पेरिसमा भएको राजनीतिक घटनाको स्मरण गरेको छ । केन्द्रका अध्यक्ष हस्तबहादुर केसीद्धारा आज एक विज्ञप्ति जारी गरी सो घटनाको स्मरण गरिएको हो । केसीद्धारा जारी विज्ञप्तिमा ‘पेरिसमा १८ मार्चको दिन मजदूरहरुले पुँजीपतिहरुको सत्ता कब्जा गरेका थिए । आजको दिन अन्तर्ष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा एक ऐतिहासिक दिन हो ।

पेरिसका मजदुर (कम्युनार्डो) हरुले पेरिस कम्युनको निर्माण गरेर पहिलो पटक सर्वहारा वर्गको राज्यसत्ता कब्जा गरेका थिए । त्यसैले पेरिस कम्युन एक युगान्तकारी परिघटना थियोे, त्यसबाट विश्वमै पहिलोपटक सर्वहारा वर्गले आफ्नो वर्गीय सत्ता प्राप्त गरेको थियोे र पेरिसमाथि फरफराइरहेको सर्वहारावर्गको रातो झण्डा पुरानो संसारको लागि एउटा प्राणघातक खतरा थियो ।’ भनिएको छ ।

सन १८७१ मे २८ का दिन प्रतिक्रियावादी भर्साइल सरकारले पेरिस कम्युनमाथि प्रतिक्रान्तिको धावा बोल्यो र ७२ दिन पछि पेरिस कम्युन ढल्यो । ७२ दिनको छोटो अवधिको आफ्नो अस्तित्वपछि पेरिस कम्युन पराजित भयो, पुँजीपति वर्गको भयानक हमलासामु नवजात कम्युन टिक्न सकेन । भर्साइल प्रतिक्रियावादी सत्ताले गरेको पाशविक हमलाद्वारा करिब ३० हजार पुरुष , महिला तथा केटाकेटीहरुको आमरुपमा हत्या गरिएको थियो भने ५० हजार जतिलाई घाइते तुल्याइएको थियो, केसीको विज्ञप्तिमा सो घटनाको स्मरण गरिएको छ ।

केसीले विज्ञप्तिमा,‘मुक्तिको लागि विश्वका मजदुर वर्गको आन्दोलनको इतिहासमा पेरिस कम्युन एक गौरवशाली पाना रहेको छ । मजदुरहरुको इतिहासमा पहिलोल्ट सत्ता कब्जा गरेको र ७२ सम्म सत्ता कायम राखेको सो घटना आफैमा एउटा महत्वपूर्ण ऐतिहासिक घटना थियो’ भनेका छन् ।  केसीलेले विज्ञप्तिमा, विश्व कम्युनिस्ट इतिहासको जानकारी गराउँदैपेरिस कम्युनको घोषणा भएको आज १५० वर्ष पुरा भएको छ । यो १५० वर्षको अवधिमा संसारभर ठूला ठूला परिवर्तनहरु भइसकेका छन् । सन १९१७ मा अक्टोबर समाजवादी क्रान्ति सम्पन्न थियो । सन १९४९ चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । साथै भियतनाम, कोरिया, क्युवा लगायत विश्वका कैयनदेशहरूमा कम्युनिस्ट क्रान्ति सम्पन्न गरिए ।
यद्यपि रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति भै पुँजीवादको पुनःस्थापना भएको भए पनि विश्व सर्वहारा क्रान्तिको आवश्यकता अरु बढ्दै गएको छ, भनेका छन् ।

आज पनि नेपाल, भारत, फिलिपिन्स, टर्की, पेरु, भेनेजुयला, फ्रान्स, जर्मनी, नेदरल्यान्ड, अफगानिस्तान आदि देशका माओवादी कम्युनिस्ट पार्टीहरुले कतै सशस्त्र विद्रोह मार्फत त कतै सशस्त्र जनयुद्ध मार्फत क्रान्तिलाई अगाडि बढाइरहेका छन् । केसीले विज्ञप्तिमा पेरिस कम्युन विश्वका सर्वहारा वर्गको आफ्नो प्यारो आदर्श हो । पुँजीवादी राज्ययन्त्रलाई ध्वस्त पारी सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्नका लागि सर्वहारावर्गको त्यो पहिलो जमर्कोमा बताएका छन् ।