• मंसिर १३ २०८१, बिहीबार

पार्टीको निर्देशन विपरितका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएका छौं : ईश्वर पोखरेल

चैत्र ४ २०७७, बुधबार

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बुधबार वरिष्ठ नेता माधव नेपाल समूहको भेलामा कार्यकर्ता सहभागी भएपछि पार्टीको निर्देशन विपरित भएका क्रियाकलापलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् ।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गुट विशेषका सभा नगर्न नगराउन र त्यस्ता भेलामा सहभागी नहुन दिएको निर्देशन विपरित भेला आयोजना भएको सम्बन्धमा बुधबार साँझ कुराकानी गर्दै महासचिव पोखरेलले निर्देशन विपरितका काम हुनु राम्रो नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टी अध्यक्ष एवम् महासचिवको निर्देशन विपरित भएका भेलालाई पार्टीले गम्भीरताका साथ लिने बताउँदै पार्टी अध्यक्षले धुमबाराहीमा नेताहरुलाई बोलाएर भेला नगर्न र छलफल गर्नुपर्ने कुराहरुलाई ७ गतेको बैठकमा राख्न अनुरोध गर्नुको साथै चियापानमा सहभागी हुन गरेको आग्रहलाई नमानेर राम्रो नगरेको बताए ।