काठमाडौं । बिगतमा नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ विद्यार्थी संगठन नेपाल प्रगतिशील विद्यार्थी यूनियनका केन्द्रिय सदस्य रहेका पञ्चयतकालका जुझारु विद्यार्थी योद्धा डण्डु आचार्यको आज दिउँसो ३:२५ बजे चन्द्रगढी झापामा असामयिक दुःखद निधन भएको छ । उनी पञ्चायती कालमा मेची क्याम्पस नेपाल प्रगतिशील विद्यार्थी यूनियनको तर्फबाट विद्यार्थीहरुको नेतृत्व गर्दथे ।
२०३५/३६ सालको संयुक्त विद्यार्थी आन्दोलनको तयारीदेखि नै राजनीतिमा सक्रिय उनी विद्यार्थी माझ आफ्ना कुराहरु प्रष्ट राख्ने र उनीहरुलाई संगठनमा आबद्ध भएर ‘बैज्ञानिक शिक्षाका निम्ति लडाई आमूल परिबर्तनका निम्त पढाई’ भन्ने नाराका वरिपरी विद्यार्थीहरुलाई गोलबन्द गर्न सक्रिय रहेका थिए ।
दिबंगत आचार्य नेपाल कम्युनिष्ट पार्टीको २०७१ सालमा धरानमा भएको एकताको राष्ट्रिय सम्मेलनमा सहभागी हुन चाहेका थिए तर बिमारीका कारण त्यसबेला उनी उपस्थित हुन सकेनन् । कमरेड पुष्पलालको नीति र कार्यक्रम बोकेको पार्टीले मात्र देशलाई आमूलपरिवर्तनको सही दिशामा लैजना नेतृत्व गर्न सक्दछ भन्ने उनको दृढ विश्वास थियो ।