नेपालमा हाल ‘कु’ गरिएको भनिएको लोकतान्त्रिक गणन्त्रात्मक संविधानका मस्यौदाकार डा. बाबुराम भट्टराई अहिले दिल्लीमा स्वास्थ्योपचार गराइरहेका छन् । उनले नेपालमा रोगको निदान हुन नसक्दा आफू विदेशमा आउनु परेकोमा दुःख व्यक्त गरिरहेका छन् । नेपालको राजनीतिक शरीरमा लागेको रोग के हो भन्ने कुराको व्याख्या र निदान हुन बाँकी नै रहेका बखत भट्टराईको शरीरमा आएको ट्युमर पनि के हो भन्ने निदान हुन बाँकी छ ।
नेपालमा राजनीतिक कुराको ‘निदान’का लागि ‘कानुनी ल्याव’मा पठाइएकाले यसको कानुनी निदान मात्र हुने तर राजनीतिक रोग जस्ताको तस्तै रहने कतिपयको यथार्थ भनाइ सार्वजनिक भैरहेको छ । स्वयम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रचण्ड र माधव नेपाल पनि राजनीतिक निदान दिन ‘कानुनी ल्याब’तिर फर्केर प्रहार गर्न पछि परेका छैनन् ।
रुसी दार्शनिक तथा साहित्यकार लिओ टल्सटोयले कुनै पनि काम गर्दा मुख्य तीन कुरा कुराले निर्णायक भूमिका निर्वाह गर्ने बताएका छन् । पहिलो, के काम भैरहेको छ ? दोस्रो कोसँग भैरहेको छ ? तेस्रो, कुन समयमा भैरहेको छ ? अर्थात्, ‘ह्वाट’, ‘विथ हुम्’ र ‘ह्वेन’ ? यसको सिधा अर्थ हो- तपाईले के काम, कोसँग र कुन समयमा गरिरहनु भएको छ ? लिओ टल्सटोयको सिद्धान्तबाट डा. बाबुराम भट्टराईलाई पछ्यायौं भने भट्टराईले अहिले के गरिरहेका छन् ? -उपचार । कोसँग गरिरहेका छन् ? -भारतसँग । कहिले गरिरहेका छन् ? -नेपालमा राजनीतिक संकट आएका बेला ।
अब यसरी नियाल्यौं भने भट्टराईको शरीरको ‘ट्युमर’ (पलाएको मासुको डल्लो) समय सन्दर्भले औल्याएसम्म ‘ह्युमर’ (हास्य) या ‘र्युमर’ (अफबाह) हुनुमा अन्यथा छैन । उनको स्वास्थ्य लाभको कामना गरौं ! यसमा कन्जुस्याइँ छैन । हामी सचेत प्राणी मानव हौं ! तर उनको सहकार्य र समय सन्दर्भका हिसाबले यो उचाइका राजनीतिक छबी भएका मानिसले सिधा बोलेको भए के नै पो बिग्रने थियो र भन्ने आमजनता सम्मको धारणा छ ।
डा. भट्टराईको समस्या, यस अर्थमा, सिधासिधा ह्युमर र र्युमर दुवै हुन गएको छ । हो, शरीरमा केही अवश्य पलाएको हुनु् नै पर्छ र छ पनि । किनकि, नेपालको राजनीतिसँग कुनै पनि नेता, त्यसमा पनि वर्तमान संविधानका मस्यौदाकार, भट्टराई त अभिन्न हुने कुरा भएन । अर्को कुरा, नेपालमा ‘आउने’ वा ‘ल्याइने’ हरेक संकटको निकास दिने भारत नै हो । यो त ढाँटेर पनि ढाँटिदैन किनकि यो दिनको घाम झैं ‘ब्ल्याक एण्ड ह्वाइट’ कुरा हो । यो आँखा तिर्मिराउने र भ्रममा पर्ने खालको रंगीन छदैछैन ।
यस अघि प्रचण्ड पनि श्रीमतीको कभरलिएर मुम्बई पुगेकै हुन् । झलनाथको बिरामी यात्रा पनि यो यथार्थताबाट टाढा हुन सक्तैन । अरु पनि जाँदै होलान् र जाँदै गर्लान् । तर मूल कुरो देश विरामी भएको छ । देश र संविधानको शरीरमा ठाउँठाउँमा ट्युमर पलाएका छन् । यस अर्थमा भट्टराईको सांकेतिक विरामी आफैमा ‘ओपन सेक्रेट’ छ । त्यसैले नेताजी ! कर र बलजफ्तीका कुरा होइन, स्वेच्छाले सकिने जति स्वाभिमान बोकेर घरेलु राजनीतिक शक्ति आफैले समस्या हल गर्न थाले ‘टयुमर’को उपचार नेपालमै पनि संभव थियो कि ? अहिलेको जस्तो ‘ह्युमर’ र ‘र्युमर’ त हुने थिएन होला !