• मंसिर ११ २०८१, मंगलवार

पुरस्कारका लागि छानिए ६३ चलचित्र

फाल्गुन ९ २०७७, आईतवार
काठमाडौँ । नेपाल चलचित्र तथा सांकृतिक प्रतिष्ठानले गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो शृंखलामा ३१ देशका ६३ चलचित्र छानिएका छन् ।
प्रतिष्ठानले वर्षेनी गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागि संसारभरिका ५२ देशबाट ४५० चलचित्र आएका थिए । कोरोना महामारीको चपेटाले गर्दा सबै देशको सबै राम्रा चलचित्र छान्न सम्भव नभएकोले प्रतिष्ठानको आन्तारिक छनौट समितिले दिएको नम्बरको आधारमा धेरै नम्बर पाउने चलचित्रहरु मध्येबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रतिस्पर्धाको लागि छनौट गरिएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले बताए ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अनुसार कोरोना महामारिले गर्दा केही पुरा हुन नसकेका र केही रिलिज नभएको कारण सुरक्षाले गर्दा पनि नेपाली फिचर फिल्म खासै प्रतिस्पर्धा अन्तर्गत आउन नसकेको र थप समय मागिएको तर प्रतिष्ठानको कार्यक्रम अनुसार पूर्व निर्धारित मिति भएको कारणले छनौट चलचित्रका नामावली सार्वजनिक गर्नैपर्ने भएकोले सो प्रतिस्पर्धाको लागि नेपाली फिचर फिल्म नटुग्याइकन अरु प्रतिस्पर्धाको लागि छनौट गरिएका चलचित्रको नाम सार्वजनिक गरिएको छ । अझैपनि केही विशेष, उत्कृष्ट र विषय प्रधान चलचित्रहरु प्राप्त भएको खण्डमा अप्रतियोगी हुने गरी प्रदर्शन गर्न सकिने आयोजक प्रतिष्ठानले बताएको छ ।
निफको चौथो संस्करण २०२१ फेब्रुअरी २४ देखि २८ (२०७७ फागुन १२ देखि १६)सम्म काठमाडौंमा गर्ने तयारी सहित विश्वभरका चलचित्रकर्मीलाई सहभागिताका लागि आहवान गरेको प्रतिष्ठानले सो अनुसार उत्साहपूर्ण रुपमा चलचित्रहरु प्राप्त भएपनि कोरोना महामारीका कारण विश्वभरका चलचित्रकर्मीलाई एकजुट बनाई हलमै फेस्टिवल गर्ने चाहना पुरा गर्न फागुन भन्दा बैशाख बढी सहज र सुरक्षित हुने ठानेर पहिले उल्लेखित मितिबाट आगामी २०७८ बैशाख २३ देखि २७ मा सारिएको जानकारी गराएको थियो ।
पूर्वघोषित प्रतिवद्धता अनुसार चौथो निफमा प्रतिस्पर्धा र प्रदर्शन गरिने चलचित्रहरुका नामावली सार्वजनिक गरेको बताएको प्रतिष्ठानले महोत्सवको अरु जानकारी आगामी दिनहरुमा गराउँदै जाने जानकारी दिएको छ । ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्य सहित सुरु भएको फेस्टिवलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मलाई अलग्गै समूहमा प्रतिस्पर्धा गराइ अवार्ड पनि वितरण गरिने छ ।
कोभिड–१९ ले पारेको प्रभावमा बनेका यस्ता फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशि सहित गौतम बुद्ध अवार्ड प्रदान गरिनेछ । यसैगरी सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार अमेरिकी डलर राशिको माउन्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० अमेरिकी डलरको मञ्जु श्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय अमेरिकी डलर राशिको बाग्मती अवार्ड प्रदान गरिनेछ । नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई रु १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद रु. ५० हजार प्रदान गरिने छ ।