• मंसिर १२ २०८१, बुधबार

संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट र उपप्रधानमन्त्री पोखरेलबीच शिष्टाचार भेटवार्ता

माघ २० २०७७, मंगलवार

काठमाडौंं  । नेपालका लागि संयुक्त अधिराज्यकी राजदूत निकोला पोलिटले मंगलबार उपप्रधानमन्त्री ईश्वर पोखरेल समक्ष शिष्टाचार भेट गरेकी छिन् ।

भेटका क्रममा उपप्रधानमन्त्री पोखरेल र राजदूतपोलिटले नेपाल र संयुक्त अधिराज्यबिच रहेको मित्रता र द्विपक्षीय सहयोगका विविध पक्षका सम्बन्धमा छलफल गरेका छन् ।

सो क्रममा उपप्रधानमन्त्रीले नेपाल र संयुक्त अधिराज्यबिच दुई शताब्दीदेखिको महत्त्वपूर्ण र निरन्तर सम्बन्ध रहेको चर्चा गरे । भेटको अवसरमा राजदूतबाट नेपालले जोखिममा रहेका आफ्ना नागरिकका लागि सुरु गरेको कोभिड–१९ विरुद्धको खोप अभियानको सराहना गर्दै नेपाललाई यस अभियानमा सहयोग गर्न संयुक्त अधिराज्य इच्छुक रहेको जानकारी गराइन् । उनले नोभेम्बर २०२१ मा संयुक्त अधिराज्यको ग्लासगोमा हुन गइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेपालको सक्रिय सहभागिता रहने विश्वाससमेत व्यक्त गरेकी छिन् ।

उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र स्थापना गरी सम्बन्धित मन्त्रालयहरू मार्फत सो रोगको नियन्त्रण, रोकथाम र उपचारका लागि चालेको अभियानले रोग पहिचान र नियन्त्रण प्रभावकारी भएको बताउँदै संयुक्त अधिराज्यबाट नेपालको विकासमा भइरहेको सहयोग र कोभिड–१९ को उपचारका निमित्त सहयोग गर्ने प्रतिबद्धताका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उनले जलवायु परिवर्तन नेपालको पनि प्राथमिकतामा रहेको जानकारी गराउँदै सन् २०१८ मा पोल्यान्डमा भएको सम्मेलनमा राष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको जानकारी गराए ।