काभ्रे जिल्लाका ७ एतिहासिक साँस्कृतिक नगरहरुम्ध्ये सबभन्दा पुरानो नगर हो उग्रचण्डी नाला । वास्तवमा नाला विभिन्न हिसावले ऐतिहासिक मानिन्छ । यहाँ ऐतिहासिक वस्तुहरु, शिलापत्र, पुराना वंशावली, लोकथा, अनुश्रुति, किंवदन्ती, लोकोक्ति र ताम्रपत्र आदि पाउन सकिन्छ । काभ्रेका ७ वटा नगरहरुमा रहेका ती ऐतिहासिक वस्तुहरु जोगाउन राज्य तथा गैरराज्य पक्ष लाग्नु पर्ने आजको आवश्यकता हो । धेरैले नालालाई कला र इतिहासको खानी मान्दै यहाँ अवलोकन गर्न आएबाट पनि यो कुरा पुष्टि हुन्छ । नेपालकै प्रसिद्ध ४ भगवतीमध्ये एउटा उग्रचण्डी नाला भगवती, तथा नेपालकै ४ करुणामयमध्ये श्रृष्टिकान्त लोकेश्वर करुणामय पनि यहीँ हुनुले यो कुराको पुष्टि गर्दछ ।
शाक्यमुनि गौतम बुद्ध, च्ववन ऋषि, वाल्मिकी ऋषि जस्ता शिद्ध पुरुषहरुले उक्त स्थानमा गई ध्यान गरेका थुप्रै प्रमाणहरु सजिलै पाउन सकिन्छ । तर समय-समयमा आएका भूकम्प तथा बेलाबेला हुने आगजनीहरुले त्यहाँ रहेका प्राचीन इतिहास बोकेका वस्तुहरु, साँस्कृतिक महत्व बोकेका मठ मन्दिरहरु, गुफाहरु पुरिएर गएको अनुमान गर्न सकिन्छ । इतिहासका कयौं पानाहरु दन्त्य कथा र जनश्रुुति मै अहिलेसम्म आधारित भएर आएका छन् । यी सबै कुराहरुमा ध्यान दिँदै यहाँको धर्तीमुनि पुरिएका इतिहास झल्काउने वस्तुलाई फेरि एकपटक उत्खनन् नगरी भएको छैन । नेपालको मौलिक र आफ्नै वैज्ञानिक विक्रम संवत पनि यस्तै इतिहासको एउटा ज्वलन्त उदाहरण हो । विक्रमसंवत कलिसम्वत ३०४४ मा शुरु भएको प्रचीन सम्वत हो ।
यो संवत कृतसंवत, माधवसंवत आदि नामबाट पनि प्रसिद्ध भएको इतिहासमा पाइएता पनि नेपालको भाषा वंशावलीमा विक्रमादित्य संवत उल्लेख भएको पाइन्छ ।
यो संवत नेपालको पुरानो संवत र आफ्नै मौलिक र आफ्नै माटोको संवत हो । उग्रचण्डी नाला नगरका राजा विक्रमादित्यले नै यो संवत चलाएका हुन् । उत्तरापन्थ नागिपुरका राजा नै नागिपुरका राजा हुन् । विक्रमादित्यको टाउको अझ पनि साँखुको बज्रयोगिनी मन्दिरमा देख्न सकिन्छ । कुनैसमय विक्रमादित्य नामका राजाले नालामा राज्य गर्थे । त्यसराज्यमा एक ब्राहमणलाई राज्यकै कामको लागि राज्य भन्दा बाहीर पठाउनु पर्ने भयो । ती ब्राहमणलाई विक्रमादित्य राजाले बाहीर पठाउने आदेश दिए । तर ती ब्राहमणले आफ्नी श्रीमतिको जिम्मा राजाले नै लिनुपर्ने र फर्किएपछि सकुशल फिर्ता पाउनु पर्ने सर्त राखे ।
सो सर्त राजाले स्वीकार गरे । केही समय विक्रमादित्य राजाको दरबारको उनै ब्राहमणकी श्रीमति राखेको कोठामा आगो लाग्यो । सोही आगोमा परेर ती महिलाको मृत्यु भयो । ती स्त्री मरेपछि राजा विक्रमादित्यलाई अफ्ठेरो पर्यो । संकट टार्नका लागि राजाले गुरु तथा पुरोहीतहरुसित छलफल गरे । ती पुरोहीतहरुको सल्लाह अनुसार राजा विक्रमादित्यले काठमाडौंका राजाको दरबारमा नोकरी गर्न थाले । उपत्यकाका राजा विहान सबेरै साँखुको बज्रयोगिनी मन्दिरमा गएर तेल भकभक उम्लिरहेको कराईमा आफूलाई पकाउँदा रहेछन् । पाकिसकेपछि त्यहाँ रहेका देवगणहरुले उनको मासु खाँदा रहेछन् । राजा मासु खाइसकेपछि फेरि जीवित गराइँदा रहेछन् । देवगणहरुले आफ्नो भोजनपछि राजालाई थुप्रै धनसम्पति प्रदान गर्दारहेछन् ।
यसरी राजाको कृयापलापको निगरानी भेषधारी विक्रमादित्यले राजा जानुभन्दा अगाडी नै बज्रयोगिनीमा पुगी आफ्नो शरीरलाई विभन्न प्रकारको मसलाहरुको लेपन लगाई भकभक तेल उम्लिरहेको कराईमा आफूलाई पकाएछन् । बज्रयोगिनीमा सम्पूर्ण देवगण आएर विक्रमादित्यको मासु खाएछन् । मासु खाँदा अन्य दिनको तुलनामा स्वाद ज्यादै राम्रो भएकोले देउताले ज्यादै खुसी भई विक्रमादित्यलाई पुन जिवीत गरेर थुप्रै धन सम्पति दिनुका साथै चिन्तामणि झोला (इच्छा पुरा गर्ने झोला) दिएर पठाएछन् । विक्रमादित्यले चिन्तामणि झोला प्राप्त गरेपनि आफ्नो राज्य नालामा फर्किएर आफ्नो कबुल अनुसार ब्रहामणलाई उनको स्त्री झोलाबाट झिकेर फिर्ता दिए ।
यो कुरा उपत्यकाका राजाले पछि चाल पाएपछि आफ्नो सम्पूर्ण राज्य नै विक्रमादित्यलाई सुम्पिए । नालाबाट विक्रमादित्यको राज्य उपत्यकासम्म पनि विस्तार भयो ।
विक्रमादित्य राजाले पनि नयाँ राज्यका जनताहरुको सम्पूर्ण ऋण तिरिदिएर विक्रम संवत प्रारम्भ गरे । त्यही विक्रम संवत नै आजको विक्रम संवत हो । राजा विक्रमादित्य अविवाहित थिए । जुन उपत्यकाको राजाले आफूलाई राजा बनाइदिए । उनैले देह त्याग गरेपछि अब म पनि नेपाल त्याग गर्छु भनी भारतको वैशालीतर्फ लागे । त्यहाँपनि उनले आफ्नो कृति फैलाई त्यहाँ जनताहरुलाई प्रभावित परि उनले सो विक्रम संवत भारतमा समेत चलाए ।
साँखुको बज्रयोगिनी मन्दिरमा आजको दिनसम्म पनि विक्रमादित्यको ढुंगाको टाउको र फलामको कराई राखिएको छ । विक्रम संवत सम्बन्धि शिलालेखहरु काठमाडौंको विशालनगर लगायतका स्थानहरुमा पनि रहेका छन् । ती अभिलेखहरुको विस्तृत अध्ययन गरी यसबारे अझै पनि गर्भमा रहेका तथा नालाको माटोमा पुरिएर रहेका अरु थुप्रै कुराहरु विश्वसामु देखाउनु परेको छ । र यसरी र यी प्रमाणहरुका आधारमा यो संवत अन्य ठाउँबट आएको नभई आफ्नै मौलिक संवत हो भनेर ठोकुवा गर्न सकिन्छ ।