काठमाडौं । अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले बर्मामा भएको सैनिक ‘कू’को विरोध गरेको छ । त्यहाँ बर्मामा (२०२१ फेब्रुअरी १) सेनाले ‘कू’ गरेर सत्ता हातमा लिएको छ । केन्द्रले आज एक विज्ञप्ति जारी गर्दै सो घटनाको विरोध जनाएको हो । संगठनका अध्यक्ष हस्तबहादुर केसीद्धारा आज जारी विज्ञप्तिमा जुनसुकै देशमा भएको भएपनि सैनिक कू हुनु लोकतान्त्रिक पद्धतिका विरुद्धमा भएको जनाइएको छ ।
स्थानीय समयअनुसार सोमबार बिहानै सेनाले सत्ताधारी पार्टी नेशनल लिग फर डेमोक्रेसीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेताहरूलाई नियन्त्रणमा लिई सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । सरकारी टेलिभिजनबाट भिडियो सन्देश जारी गर्दै सेनाले एकवर्षका लागि म्यानमारमा संकटकालको घोषणा समेत गरेको छ । गत नोभेम्बरको चुनावमा भएको धाँधलीको जवाफमा नेताहरुलाई पक्राउ गरिएको सेनाले जनाएको छ । सेनाका प्रमुख मीन आङ हलाइङ्गलाई सत्ताको जिम्मेवारी दिइएको म्यानमारको सेनाले जनाएको छ ।
गत नोभेम्बरमा भएको चुनावमा विजयी भएका सांसदहरुसहित तल्लो सदनको पहिलो बैठक सोमबारका लागि बोलाइएको बेला सूकीसहितका नेताहरुलाई पक्राउ गरि सेनाले सत्ता हत्याएको हो । सुकी पकाउ परेसँगै राजधानी सहित म्यानमारको प्रमुख शहरमा इन्टरनेट सेवा अवरुद्ध पारिएको छ । यस्तै अरु प्रजातन्त्रवादी नेताहरू पनि पकाउ परेको र राजधानी सहितका प्रमुख शहरहरुमा ठूलो संख्यामा सैनिक तैनाथ भएको बीबीसीले जनाएको छ । त्यस्तै स्थानीय समयअनुसार सोमबार बिहानै सूकीसहित राष्ट्रपति विन मिन्ट र अरु नेताहरुलाई सेनाले पकाउ गरेको समाचारहरु आइरहेका छन् ।
केसीद्धारा जारी विज्ञप्तिमा यसरी सैनिक ‘कू’ गरी म्यानमारको सेनाले सिमित प्रजातन्त्रको पनि घाँटी निमोटेर म्यानमारमा स्वयतआतंक मच्चाउँदै एक वर्षसम्म संकटकालको घोषणा गर्नुलाई विश्वको इतिहासमा नकारात्मक घटनाकोरुपमा लिर्नुपर्छ भनिएको छ । विज्ञप्तिमा मुलुकलाई अन्धकारमा धकेल्ने, इन्टरनेट, टेलिफोन जस्ता सञ्चार संस्थाहरुमाथि प्रतिबन्ध लगाउने र म्यानमारका जनाएको मौलिक तथा प्रजातान्त्रिक हक अधिकारमाथि म्यानमारको सेनाले गरेको उक्त सैनिक ‘कू’ प्रति संसारभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन हाम्रो अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र घोर भ्रत्ससहना र विरोध गर्दछ, भनिएको छ ।
विज्ञप्तिमा केसीले तुरुन्तै प्रजातान्त्रिक प्रक्रियामा फिर्ता गर्न र नेतृ आङ साङ सूकीसहित पक्राउ गरिएका सम्पूर्ण नेताहरूलाई विनासर्त तुरुन्त रिहा गर्न त्यहाँको सेनालाई आग्रह गरिएको छ । साथै प्रजातन्त्रप्रति आस्थावान जनसमुदायलाई म्यानमारको सेनाले चालेको फासीवादी सैनिक ‘कू’ का सबै हर्कतहरुलाई अविलम्ब फिर्ता लिई म्यानमारमा प्रजातान्त्रिक व्यवस्थाको पुनर्वहाली गराउन आ–आफ्नो देश र स्थानबाट आवाज बुलन्द गर्न आह्वान गरिएको छ ।