नेकपा दाहाल–नेपाल समूहका नेता वर्षमान पुनले पूर्वमाओवादीका बहिर्गमित जनमुक्ति सेना, अयोग्य लडाकु र शहीद परिवारलाई संगठित गर्न सरकारले ‘गोहीको आँसु चुहाएको’ टिप्पणी गरेका छन् ।
पीडितहरूले लामो समयसम्म आन्दोलन गर्दा, पार्टीमा पटकपटक छलफल हुँदा र आफूले मन्त्रिपरिषदमा तीन वर्षसम्म लगातार प्रयास गर्दासमेत सरोकारवाला मन्त्रालयका मन्त्री रामबहादुर थापा ‘बादल’ तयार नभएको उनको आरोप छ ।
गृहमन्त्री बादलले घाइतेहरूले पाउँदै आएको जीवनवृत्ति भत्तासमेत खोसेको आरोप लगाउँदै पुनले भनेका छन्– ‘बादलजीले ७५ प्रतिशत बढी घाइतेलाई उपलब्ध गराइँदै आइएको १२ हजार ४ सयबाट कटाएर ६ हजार २ सयमा झार्नुभयो । ६ हजार २ सय पाउँदै आएका ५० प्रतिशत घाइतेको पूरै सुविधा खोस्नुभयो ।’
शनिबार सन्धीखर्कमा आयोजित नेकपा दाहाल–नेपाल पक्षको कार्यक्रममा पूर्वमन्त्रीसमेत रहेका पुनले अगाडि भने, ‘मैले धेरैपटक सहजीकरण गरेँ । हुन्छ–हुन्छ भन्दै काम गर्नुभएन । तीन वर्षसम्म घच्घच्याउँदा केही नगर्नेले अहिले गोहीको आँसु चुहाएर हिजो प्रचण्डले दिएन, हामी प्याकेज दिन्छौँ भनेर भाषण गरेको सुनेका छौँ ।’
आफूले मन्त्रिपरिषदमै २००७ सालदेखि झापा आन्दोलन, काङ्ग्रेसको मुक्ति आन्दोलन, ०४६ सालको आन्दोलन, जनयुद्ध र १९ दिने जनआन्दोलनका सबै शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने राख्दा अस्वीकार गरिएको पुनले बताए । तर, अहिले आफू कमजोर भएपछि गुटमा तान्न पीडितहरूप्रति नक्कली सहानुभूति नदेखाउन र विचलित मानसिकताका साथ उनीहरुको भावनामा टेको लाग्ने प्रयास नगर्न उनले आग्रह गरेका छन् ।
नयाँ दल दर्ताका लागि केन्द्रीय समितिको ४० प्रतिशत आवश्यक पर्ने प्रावधान निर्वाचन ऐनमा रहेको चर्चा गर्दै पुनले ४ सय ४१ मा १ सय जनाले ४० प्रतिशत नपुग्ने भएकाले केपी ओली दलविहीन बन्ने दाबी गरे । ‘निर्वाचन आयोगले केपी ओलीको १५ सय १ जनालाई खारेज गरेको छ । हामीले छिट्टै चुनाव चिन्ह र आधिकारिक पार्टीको मान्यता पाउँछौँ’– पुनले दाबी गरे ।