१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद ‘कू’ गरेसँगै नेकपाभित्र रडाको मच्चिएको छ । संसद ‘कू’को मुद्दालाई लिएर वर्तमान समयमा नेकपा दुई कित्तामा उभिएको छ ।
एक कित्तामा प्रधानमन्त्री केपी शर्मा ओली उभिएका छन् भने अर्को कित्तामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उभिएका छन् । प्रधानमन्त्री ओलीको पुष ५ गतेको कदमविरुद्ध प्रचण्ड–नेपाल सडकमा उत्रिएका छन् भने ओली सत्ताको बागडोर सम्हालेर बसेका छन् ।
ओलीको सत्ताको बागडोर सडकबाटै परास्त गरिदिने प्रचण्ड–नेपाल समूहले यसअघि नै उद्घोष गरिसकेको छ । ओली सडकको आवाज दबाउन कटबाँस र पानीको फोहरा प्रयोग गरिरहेका छन् । तथापि त्यसको कुनै प्रवाह नगरी प्रचण्ड–नेपाल समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र अन्य साना राजनीतिक दल र अधिकारकर्मी सकडमा आन्दोलित छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सडकमा भैरहेको आन्दोलनको प्रवाह नगरी मनमौजी बोलिरहेका छन् । उनी आफ्नो पदिय दायित्व र जिम्मेवारी भुलेर अशिष्ट भाषाको पराकाष्ठा बनेका छन् ।
पूर्वप्रधानन्यायाधीशलाई अजासु, अधिवक्ताहरूलाई दुर्मुखा, वरिष्ठ अधिवक्तालाई तमासा देखाउने बाजे वकिल, बुद्धिजीवीलाई झुन्ड, मन्त्रिपरिषद्का पूर्वसहकर्मीलाई बैगुनी केटो, पार्टीका नेताहरूलाई हुल्लडबाज र पत्रकारलाई नर्कबासी उपमा दिएका छन् ।
यतिमात्रै होइन, उनी झुट बोल्नमा पनि उतिकै माहिर छन् । खोज, अनुसन्धान र तथ्यमा आधारित कुरा प्रायः नबोल्ने स्वभाव भएको पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रतिभाशाली युवा नेता सांसद गगन थापाले यसअघि नै आफ्नो सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
शनिबार (आज) आफू निकट प्रवासी नेपाली एकता मञ्चको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल समूहको निवेदन खारेज भएको र आधिकारिक पार्टी र सूर्य चिन्ह आफ्नो भएको बताएका थिए ।
यस विषयमा निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठसँग हामीले सोधेका थियौँ, –‘आधिकारिक पार्टी र सूर्य चिन्ह ओली समूहकै हो त ?’ यस प्रश्नको उत्तर दिँदै प्रवक्ता श्रेष्ठले भने, –‘यस बारेमा निर्वाचन आयोगमा कुनै आधिकारिक निर्णय नै भएको छैन ।’
शनिबार बाहेक उप्रान्त दिनहरूमा ओलीले बोल्ने गरेका झुट कुराको बारेमा नबोलौँ । तथापि शनिबार (आज)कै कुरालाई लिएर हेर्ने हो भने प्रधानमन्त्री ओलीले सरासर झुट बोलेको प्रमाणित हुन्छ ।
भनिन्छ, –‘गुरु घर विद्या सर ।’ पुष ५ गते ओलीले गरेको संसद विघटन पश्चात् ओलीको अलोकतान्त्रिक हर्कतको बचाउ गर्दै आएका उनका पिछ्लग्गु एवम् विश्वासपात्र नेता सुवास नेम्वाङ पनि झुट बोल्दै आएका छन् । गुरु झुट नबोली सन्तोष नलिनेको चेला फरक हुने कुरा पनि भएन ।
नेता सुवासचन्द्र नेम्वाङले शुक्रबार (हिजो) दिएको एक अभिब्यक्ति विवादमा परेको छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुंग्याएको बताएका थिए । तर, निर्वाचन आयोगले विवाद तत्काल टुंगो नलाग्ने हिजो नै स्पष्ट पारिसकेको छ ।
निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै समूहले आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश गरेका छैनन् । त्यसैले यो विवाद हाललाई हल नभइसकेको बताएका छन् । आयोगका आयुक्त पौड्यालले नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको समेत स्पष्ट पारिसकेका छन् ।
आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न शुक्रबार (हिजो) नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली समूहको तर्फबाट नेकपा नेता सुवास नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित थिए ।
प्रचण्ड–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल उपस्थित हुन सकेनन् । उनीहरू दुवै जना उपत्यका बाहिर भएकोले उपस्थित हुन नसकेको बताइएको छ । प्रचण्ड–नेपाल समूहका तर्फबाट नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोगमा पुगेर पत्र बुझाएका छन् ।
नेता सुवास नेम्वाङको विरोधाभाषपूर्ण अभिव्यक्तिका कारण निर्वाचन आयोगले खण्डनसमेत गरेको छ ।
नेम्वाङले एक वर्षअघि धुलिखेलमा आयोजित एक सार्वजनिक कार्यक्रममा यसरी झुट बोलेका थिए, –‘वर्तमान संविधान (२०७२) मा संसद विघटनको प्रावधान हटाइएको छ ।’