• मंसिर १२ २०८१, बुधबार

विकल्प व्यक्तिको होइन, व्यवस्थाको खोज्नु पर्छः वक्ताहरु

माघ ४ २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली राजनैतिक बजारमा गर्मागर्मी छाएको छ । संसद विघटन गर्ने ओलीको कदमलाई प्रतिगमन भन्दै सोही पार्टीका प्रचण्ड माधव समूहदेखि नेपाली कांग्रेस, जनता सम्मजवादी पार्टी लगायत संसदमा रहेका राजनैतिक पार्टीहरु संसद पुनःस्थापनाको माग राखेर सडक संघर्षमा पुगेका छन् ।

संसद बाहिर रहेका र आफूलाई क्रान्तिकारी कम्युनिष्ट भनी चिनाउने शक्तिहरु पनि यही बेलामा नेपालमा संसदीय व्यवस्था हटाएर आफूले चाहेको जस्तो कम्युनिष्ट राजनैतिक व्यवस्था स्थापना गर्न भनेर लागिपरेका देखिन्छन् ।

संसद बाहिरबाट सडक संघर्ष गरिरहेका मात्रै होइन भूमिगत नेपाल कम्युनिष्ट पार्टीले समेत संसदीय व्यवस्था इतिहासकै संकटमा परेको निस्कर्ष निकाल्दै संघीय जनगणतन्त्र स्थापना गरेर अहिलेको राजनैतिक संकटबाट देशलाई पार लगाउनुपर्ने बताइरहेको छ ।

तेस्रो विकल्पको रुपमा ती क्रान्तिकारी शक्तिहरु पनि मोर्चाबन्दी गरेर सरकारलाई दबाव दिने रणनीतिमा लागेको देखिन्छ । पार्टीहरु २३ दलीय मोर्चा बनाएर पनि सडकमा संघर्ष गरिरहेका छन् । कसैले अरु विभिन्न खालका कार्यक्रम गरेर पनि संघीय जनगणतन्त्र स्थापना गर्ने बेला भइसकेको बताइरहेका छन् ।

यही सन्दर्भमा नेकपा (माओवादी केन्द्र)ले राजनैतिक जनपरामर्श सम्मेलनको आयोजना गरेर जनपक्षीय, सर्वदलीय र सर्वपक्षीय संयुक्त सरकार बनाएर संघीय जनगणतन्त्र स्थापना गरे मात्रै अहिलेको राजनैतिक संकटको निकास निस्कने धारणा सार्वजनिक गरेको छ । यसै सन्दर्भमा सो पार्टीले राष्ट्रिय राजनैतिक जनपरामर्श सम्मेलन विषयक एक अन्तरकृया कार्यक्रम आयोजना गर्यो ।

राजधानी काठमाडौँको संवाद डबलीमा आयोजित अन्तरक्रृया कार्यक्रममा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष तथा २३ दलीय मोर्चाका संयोजक सीपी गजुरेलले संसदबाट अमेरिकी परियोजना एमसीसी अनुमोदन नभएको झोंकमा ओलीले संसद विघटन गरेको आरोप लगाए ।

संसद विघटन हुनु र संगठन हुनुले नेपाली जनताको जनजीवनमा केही पनि फरक नपर्ने बताउँदै हिजो संसद भएकै अवस्थामा पनि जनताको जनजीवन उस्तै कष्टकर भएको र अहिले संसद नहुँदा पनि जनताको जीवन उस्तै रहेको भन्दै बरु यो संकट संसदीय पूँजीवादी व्यवस्थालाई भने आइलागेको विचार व्यक्त गरे । उनले भने, ‘अपराधी र राष्ट्रघातीहरुलाई सरकारमा पुर्याउने संसद हुनु र नहुनुमा नेपाली जनतालाई खासै फरक पर्दैन ।’

प्रधानमन्त्री ओली गणतन्त्र विरोधी मात्रै होइन देशका सबैभन्दा ठूला राष्ट्रघाती समेत भएको आरोप लगाउँदै गजुरेलले सडकमा राजावादीहरुले राजा आऊ देश बचाऊ भन्दै गणतन्त्र मुर्दावाद भनिरहँदा देखेको नदेख्यै गरि आनन्द मानेर बस्ने गरेको हुनाले ओली गणतन्त्र विरोधी भएको कुरा स्पष्ट हुने बताए । संसद विघटनबाट उत्पन्न समस्या संसद पुनःस्थापना गरेर वा ओलीले भनेको जस्तो चुनाव गरेर कुनैपनि तरिकाले समाधान नहुने भएकोले ती दुवै तरिका पश्चगामी भएको बताए ।

उनले तेस्रो विकलपको रुपमा एउटा मात्र उपाए भनेको संघीय जनगणतन्त्र स्थापना गर्नु भएको बताए । तेस्रो विकल्पको रुपमा संघीय जनगणतन्त्र स्थापना गर्न अहिले क्रान्तिकारीहरुलाई यो अवसर उपयुक्त भएको समेत गजुरेलले बताए ।
आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वजर्नेल तथा राष्ट्रिय सुरक्षा विशेषज्ञ प्रेमसिंह बस्नेतले समाजको माग सम्बोधन गर्न सक्ने राजनैतिक व्यवस्था मात्रै देशमा लामो समय टिक्न सक्ने बताए ।

इतिहासलाई गाली गरेर भन्दापनि इतिहासलाई जोगाएर देशको भलो हुने धारणा राख्दै बस्नेतले प्रश्न गरे,‘पृथ्वी नारायण शाहहरुले यो देश बनाएर हामीलाई दिएको हुनाले पो अहिले राजनीति गर्ने भयो, कसैले देशै नबनाइदिएको भए कहाँ हुन्थ्यो होला हाम्रो राजनीति ? ब्रिटिश साम्राज्यवादले संसार खाइरहेको बेला हाम्रा पुर्खाले वीरता देखाएर यो देश जोगाएको इतिहासलाई गाली गरेर कहीँ नपुगिने उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै वामपन्थी बुद्धिजीवी तथा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले देशको राजनीतिक आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनैतिक नेताको देशलाई टड्कारो रुपमा खाँचो परिरहेको धारणा व्यक्त गरे । २०६३ सालयता देश केही काम नलाग्ने नेताहरुको बन्धक बनेको भन्दै नेताहरुको गलत काम र निर्णयलाई समेत लालसलाम र जय नेपाल भनेर ताली ठोकी सदर गर्ने काइते कार्यकर्ताहरुपनि अहिलेको यो संकटको दोषी भएको बताए ।

उनले हाल विश्व दक्षिणपन्थी ढल्कोमा ढल्किन खोजेपनि नेपाललाई क्रान्तिकारी कित्तामा राखिरहनु पर्ने भन्दै प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर निम्त्याएको यो संकट खास गरेर एमसीसी भर्सेज बीआरआईको परिणाम भएको समेत बताए । द्वन्द विश्लेषक प्राध्यापक आनन्दराम आदित्यले देशको भ्रष्टाचार तलबाट माथि सर्ने भएको भए रोक्न सजिलो हुने तर हाम्रो देशमा भ्रष्टाचार माथिबाट तल सर्ने भएकोले रोक्न गाह्रो भएको धारणा राखे ।

नेपालको इतिहासमा ८ वटा ठूला ठूला आन्दोलन भएको भएपनि क्रान्ति कहिल्यै नभएकोले देशको अवस्था ज्यूका त्यू रहेको उनको विचार थियो । नेपालमा राष्ट्रवादको व्याख्या पनि आफू अनुकूलको हिसाबले र पिसाबको न्यानोमा रमाएको जसरी गरिने हुनाले देश पुरा रुपमा स्वतन्त्र हुन नसकेको विचार समेत प्राध्यापक आत्रेयले व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा आयोजक पार्टीका अध्यक्ष कर्णजीत बुढाथोकी ‘सुशील’ले ‘राष्ट्रिय राजनीतिक जन-परामर्श सम्मेलन र जनपक्षीय, सर्वदलीय, सर्वपक्षीय संयुक्त्त सरकार’विषयमा एक कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्रमा बुढाथोकीले अहिलेका शासकहरुलाई गणतन्त्र,संघीयता,धर्मनिरपेक्षता,समानुपातिक र समावेशी जस्ता सिमित उपलब्धीहरु ‘बाँदरको हातमा नरिवल’जस्तै भएको बताएका छन् ।

बुढाथोकीले कार्यपत्रमा  सिमित रुपमा प्राप्त यी राजनीतिक उपलब्धीहरु पनि शासकहरुको गलत कार्यशैलीको कारण उत्पीडित वर्ग,क्षेत्र,लिङ्ग,जाति र समुदायले उपभोग गर्न नसकिरहेको विषय औल्याउदै १३ हजार बढी शहीदहरुको रगत साथै लाखौं करोडौं जनताको कुर्वानी र संघर्षबाट प्राप्त सिमित उपलब्धीहरुको अपमान र दुरुपयोग गर्दै दलाल तथा पूँजीपति वर्गको स्वार्थसिद्ध गर्ने हतियार बनाएको उल्लेख गरेका छन्।

उनले भनेका छन् ‘त्यसकारण यो सरकार भनेको जनताको नभई साम्राज्यवाद र विस्तावादको  ईशारामा चल्ने कठपुतली सरकार हो।’नेपाल कम्युनिष्ट पार्टीको लागि एकदम उर्वर भूमि भएको बताउदै कार्यपत्रमा बुढाथोकीले माओवादी शक्तिको नेतृत्वमा नेपालमा बृहद कम्युनिष्ट एकता र धुर्वीकरण तिब्र बनाउनुपर्ने साथै विप्लब नेतृत्वको नेकपालाई लगाईएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

केपी ओली र प्रचण्ड कम्युनिष्ट पार्टी संचालन गर्न असफल भईसकेको बताउदै उनीहरु कम्युनिष्ट समेत नरहेको आरोप बुढाथोकले लगाएका छन्।

बुढाथोकीले नेपाल राष्ट्रको लागि भएका असमान सन्धी र सम्झौताहरु खारेज हुनुपर्ने धारणा राख्दै त्यस्ता सन्धी र सम्झौता गर्नु नेपालका तत्कालिन शासकहरुको लाचारीपन भएको बताएका छन्। हाल नेपालका १८ जिल्लाका ६४ ठाउँमा ९६ हजार विगाह अर्थात् ३१९ वर्गकिलोमिटर भू-भाग अतिक्रमण भएको उल्लेख गर्दै नवलपरासीको सुस्तामा मात्रै १४ हजार हेक्टर भूमि भारतद्वारा अतिक्रमित भएको र नेपाल भारत सीमामा ४३९ वटा सीमा स्तम्भ गायब भएको बुढाथोकीले आफ्नो कार्यपत्रमा बताएका छन्।

अन्तरक्रिया कार्यक्रम पार्टीका अध्यक्ष बुढाथोकिको अध्यक्षतामा भएको थियो भने पार्टी सचिव अरुण घिसिङ्गले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा बुढाथोकिको कार्यपत्र वरिष्ठ नेता तिलक बहादुर थापाले वाचन गरेर सुनाएका थिए। सो कार्यक्रममा उपास्थितहरुलाई सचिव तथा वागमती प्रदेश ईञ्चार्ज मेघ बहादुर खत्रीले स्वागत मन्तव्य दिएर स्वागत गरेका थिए।

अन्तरक्रिया कार्यक्रममा उपस्थित भएर सहभागिता जनाउने र विचार राख्ने सबैलाई पार्टी सचिव बलाराम पुनले धन्यवाद मन्तव्य दिएका थिए। कार्यक्रमा उल्टो बसेर मोटरसाइकल चलाई विश्व रेकर्ड राख्ने चित्रकुमार कार्की र सैपाल हिमालमा भिडियो सुटिङ गरेर विश्व रेकर्ड बनाउने अर्जुन कार्कीलाई सम्मान गरिएको थियो।