२३ दलीय संयुक्त राजनीतिक संघर्ष समितिले विप्लव नेतृत्वको नेकपामाथि सरकारले दमन गर्न नहुने बताएको छ । २३ दलीय संगठनको कार्यगत एकताको तर्फबाट संयोजक सिपी गजुरेलले एक विज्ञप्ति जारी गर्दै विप्लव नेकपासित सरकारले वार्ता गर्ने हल्ला चलाएपनि गिरफ्तारी र दमन नरोकेको बताएका छन् ।
गत पौष २९ गते ललितपुरबाट सो पार्टीका नेता धर्वेन्द्र बास्तोला लगायतलाई पक्राउ गरिएकोप्रति पनि गजुरेलले विरोध जनाउँदै उनीहरुलाई रिहा गरि वार्ताको वातावरण बनाउन सरकारसित माग गरेका छन् । सरकारसित वार्ताको लागि अनौपचारिक छलफल चलिरहेका बेला उनलाई गिरफ्तार गरिएको छ ।
बास्तोला विप्लव नेकपाका तर्फबाट सरकारसित वार्ता गर्ने वार्ताटोलीका सदस्यपनि हुन् । सो पार्टीले वार्ताको नाटक गरेर आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गर्ने ओली सरकारको षडयन्त्र भएको बताएको छ ।
नेपाली र नेपाल सरकारलाई ७५ अबै कर नतिरेको भन्दै बहुराष्ट्रिय कम्पनी एनसेलमाथि विप्लव नेकपाले आक्रमण गरेपछि केपी ओली सरकारले सो पार्टीलाई २ वर्षअघिदेखि प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएपनि सो पार्टीका राजनीतिक गतिविधिहरु भने रोकिएका छैनन् ।