• मंसिर १७ २०८१, सोमबार

क्राइस्ट र मेरीको जीवनमा हिन्दु संस्कृतिको छाप

माघ २ २०७७, शुक्रबार

हिन्दु र क्रिश्चियन धर्ममा को पहिलो हो र कसले कसलाई प्रभाव पारेको हो भन्ने बारेमा रोचक बहस छ । यो बहस भैरहँदा क्राइष्टका बारेमा अनुसन्धान गरिरहेका र गरिसकेका कतिपय अनुसन्धानकर्ताले उनको जीवनमा हिन्दु धर्मको प्रभाव रहेको कुरामा प्रकाश पारेका छन् । हिन्दु धर्म क्रिश्चियन भन्दा पुरानो र प्रागऐतिहासिक भएको अर्थमा क्रिश्चियन धर्ममा यसको प्रभाव पर्न गएको अनुमान गरिएको देखिन्छ । अहिलेको जस्तो विज्ञान र प्रविधिको विकास त्यतिबेला थिएन । तापनि विश्वमा एक धर्मसंस्कारले अर्कोमाथि शासन जमाउने र आफ्नो धर्मसंस्कार लाद्ने गरेको भने देखिन्छ ।

क्रिश्चियन धर्मका प्रवर्तक क्राइस्टमा हिन्दु संस्कारको प्रभाव रहेको भनी उनका जीवन व्यवहारलाई नियाल्ने र अनुसन्धान गर्ने केही अनुसन्धानकर्ताले सार्वजनिक गर्ने गरिरहेका छन् । भनिन्छ, जिससकी आमा हिन्दु थिइन् । हिन्दु संस्कारमा हुर्किएकाले उनको कतिपय तस्विरमा हिन्दुपनको झलक पाइन्छ । ‘जिसस् क्राइष्ट’ धेरै पछिमात्र दिइएको ‘टाइटल नाम’ का रुपमा लिइन्छ ।
नेपालका एक अनुसन्धानकर्ता डा.स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ नामक कृतिमा पनि क्रिश्चियन धर्ममा हिन्दु धर्मको प्रभाव रहेको उल्लेख छ । साथै, यसका बारेमा बुकानिन, स्पेन्सर, निकोलस नोटोबिचले गरेको अनुसन्धानमा पनि यी कुराको सन्दर्भ उठान गरिएको र समानता देखाउन खोजिएको पाइन्छ ।

निकोलस नोटोबिचको अनुसन्धान ‘जिजसको अज्ञात जीवन’ मा उनको जन्म भारतको हिन्दु परिवारमा भएको उल्लेख छ । इटालीको फ्लोरेन्स सहरमा राखिएको क्राइष्टकी आमा मेरीको मूर्तिमा पनि केही हिन्दुपनको झलक पाइन्छ । बेलायतको मेक्मिलन गिर्जाघरस्थित मेरीको मूर्तिमा देखाइएको पहिरन हिन्दु राजपरिवारको महारानीजस्तो साडी–गुन्यूमा रहेको छ । उनको निधारमा टीका लगाइएको छ । कतिपय विद्वानहरु क्रिस्चियनले ‘गड इज् लाइट’ भन्ने गरेको भनाइ परमेश्वर भनेका ‘शिव’ वा ‘ज्योति’ हुन् भनी अंग्रेजी भाषामा अनुवाद गरिएको भनिएको छ । शिव आफैमा ज्योति मानिन्छन्, हिन्दु धर्ममा ।

उनको शारीरिक अभिव्यक्ति सन्यासी वा महात्माजस्तो छ । शिवको भेष सन्यासी छ, निधारमा तिलक, टीका, लगाएको छ । फ्लोरेन्सको मूर्तिमा पनि जिससले सन्यासीको भेष धारण गरि टीका लगाएको स्वरुपमा देखिन्छन् । भेटिकन सिटीको राजमहलमा रहेको एक तस्वीरमा जिससको टाउकोमा टुप्पी र शरीरमा धोती लगाएको देख्न सकिन्छ । जिसस बाल्यकालमा नेपाल र भारतमा बसेको, योगसाधना सिकेको र तात्कालीन अवस्थामा बुद्ध दर्शनबाट प्रभावित रहेको पनि खोज तथा अनुसन्धानमा उल्लेख गरेको पाइन्छ । तात्कालीन धर्मभिरुहरुले जिससलाई इजरायलमा किला ठोकेर क्रूरतापूर्वक हत्या गरेपछि उनलाई गाडिएको चिहानबाट उठेर भारततिर लागेको वर्णन छ । आज पनि भारतको कस्मिरमा मृत्युपछि बौंडिएर आएका क्राइष्टको पुनः मृत्युपछि राखिएको समाधि देख्न पाइन्छ ।

क्रिश्चियनले उच्चारण गर्ने पवित्र शब्द ‘आमेन’ आखिर हिन्दुको पवित्र शब्द ॐ को अपभ्रंश भएको मानिन्छ । ओमलाई दीर्घ उच्चारण गर्दा ‘अ+उ+म्’ गरी उच्चारण गरिन्छ । यही दीर्घ उच्चारणलाई लिएर लिएर क्रिश्चियनले ‘आमेन’ भन्न पुगेको ठानिन्छ । जस्तो कि ‘ॐ मणि पद्मे हुँ’ को तिब्बती भाषामा अपभ्रंश भएर ‘ॐ माने पेमे हुँ’ उच्चारण हुने गरेको पाइन्छ । इजरायलमा यहुदीले राष्ट्रिय झण्डा र चिन्हमा हिन्दु भगवती सरस्वतीको षड्कोणको चिन्ह राख्नुमा पनि हिन्दुप्रभाव देखिन्छ ।