• मंसिर १२ २०८१, बुधबार

संसद विघटनविरुद्ध माघ ३ को प्रदर्शनमा सक्रिय सहभागी हुन देउवाको अपील

माघ २ २०७७, शुक्रबार

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको ‘असंवैधानिक कदम’विरुद्ध माघ ३ को प्रदर्शनमा सहभागी बन्न अपिल गरेका छन् । शुक्रबार सभापति देउवाले एक विज्ञप्ति जारी गर्दे यस्तो अपिल गरेका हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध काँग्रेस देशव्यापी प्रदर्शन गरिरहेको छ ।

पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको नेपाली काँग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

‘पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु,’ शुक्रबार देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको कार्यलाई नेपाली कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ ।