• बैशाख ९ २०८२, मंगलवार

ओली चुनावको तयारीमा, दाहाल-नेपाल आन्दोलनको

माघ २ २०७७, शुक्रबार

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी ओली प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन् भने विभाजित भएको नेकपा दाहाल-नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ ।

बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा भएको आन्दोलनको समीक्षा गर्दै अबका दिनमा प्रतिनिधिसभा विघटन र प्रतिगमनविरुद्धको आन्दोलनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भयो ।

दुवै पक्षले बिहीबार स्थायी कमिटी बैठक राखेका थिए । ओली समूहले बालुवाटारमा र दाहाल-नेपाल समूहले पेरिसडाँडामा बैठक राखेका थिए । ओली समूहका सदस्यले नेपाल-दाहाल समूह बाहिरिएपछि पार्टीमा उत्साह आएको भन्दै निर्वाचनको वातावरण बनाएर जानुपर्ने सुझाव दिएका छन् ।

त्यस्तै पार्टीलाई पुनर्गठन गरेर अघि बढ्ने विषयमा पनि छलफल भएको बताइएको छ । दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन् ।

ओली समूहका महासचिव विष्णु पौडेलले पार्टीभित्र गहिरिएर छलफल भएको बताए ।