काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अहिलेको अवस्थामा फुटेर नभई जुटेर अगाडि बढ्न जरुरी रहेको बताएकी छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा को आयोजनामा आज स्याङ्जाको भिरकोटमा आयोजित कार्यकर्ता भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उनले आन्दोलनमा रहेको प्रचण्ड–नेपाल समूहलाई सडकबाट फर्केर आउन आग्रह गरेकी हुन ।
“पार्टीले कारवाही गरेको छैन, पार्टी सदस्यताबाट हटाएको छैन, तपाइँहरु जहाँ पुगे पनि फर्केर आउनुहोस् । कमरेड प्रचण्ड, पार्टी एक भएमात्रै प्रधानमन्त्री बन्ने सम्भावना रहला, अर्को पार्टी बनाएर प्रधानमन्त्री बन्ने सम्भावना छैन ।” पद र कुर्सीको लोभकै कारण प्रचण्डले पार्टीलाई क्षत्विक्षत र तहस नहस बनाएको मन्त्री अर्यालको भनाइ थियो ।
“पार्टी एकताको बाँकी रहेको काम सकौँ र आगामी महाधिवेशनबाट नेतृत्व सुम्पने कुरा भएकै थियो”, उनले भनिन्, नेकपाका अध्यक्ष र महासचिव जुन समूहमा हुनुहुन्छ त्यही नै पार्टी आधिकारिक रहेको र उसैले नै सूर्य चिन्ह प्राप्त गर्ने दाबी मन्त्री अर्यालको थियो । “पार्टीको नेतृत्व तहमा देखिएको विवाद तल्लो तहका कार्यकर्तामा देखिनुपर्ने छैन” । “जिल्ला तथा स्थानीय तहमा केही नबुझेर कतै जानुभएको होला उहाँहरुलाई सम्मानसहित फेरी सम्झाइबुझाइ गरेर, यही पार्टीमा फर्काउनुपर्छ, यही पार्टी मूल पार्टी हो, यसैमा सबैको हित हुने मन्त्री अर्यालको भनाइ छ ।