• मंसिर ११ २०८१, मंगलवार

नेपालमा माघे सक्रान्ति कसरी मनाइन्छ ?

पुष २९ २०७७, बुधबार

 सूर्यकुमार घिसिङ । माघे संक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नानगरि मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ ।

भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यसदिन स्नानगरि घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदादान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।

मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने र भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ-आफ्ना यजमान कहाँ गएर महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् ।

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्धगरि घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छाला सम्बन्धी र अन्य रोग नास हुने विश्वास गरिन्छ ।