लन्डन । सामान्य विवादका कारण बेलायतमा आइतबार एकजना नेपालीको हत्या भएको छ । लन्डनको इस्टकोट रेलवे स्टेशन अगाडि भएको उक्त घटनामा मृत्यु हुने काठमाण्डौं निवासी करिब ४० वर्षीय बिक्रम केसी भएको एनआरएन यूके सदस्य तथा लण्डनमा रेष्टुरेन्ट व्यवसाय संचालन गर्दै आएकी सरस्वती केसीले जानकारी दिइन् ।
२१ वर्षीय युवकसँगको सामान्य भानाभनका कारण कुटपिट भएपछि घटनास्थलमै केसीको मृत्यु भएको थियो । सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर घर फर्किरहेका मृतक केसीको करिब १० बजे राति आफू बस्ने ठाउँभन्दा करिब ३ मिनेटको दुरीमा हत्या भएको हो ।
पाँच मिनेटमा घरमा आइपुग्छु भनेर श्रीमतीलाई खबर गरेको तर, लामो समयसम्म श्रीमान घर नआएकोले श्रीमती स्टेशनतिर निस्कदा उनले प्रहरी र एम्बुलेन्स देखिन् । प्रहरीसँग आफ्ना श्रीमानको बारेमा सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरेका थिए ।’
१० जनवरीको राति १०ः१७ बजे लन्डन एम्बुलेन्सलाई खबर गरेपछि एम्बुलेन्स टोली, इन्सिडेन्ट रेस्पोन्स अफिसर लगायत मेडिकलको समूहलाई घटनास्थल पठाएको लन्डन एम्बुलेन्स सर्भिसका प्रवक्ताले जानकारी दिए । साथै लन्डन एअर एम्बुलेन्सको ट्रमा टोलीसमेत घटनास्थल पुगेको भएपनि उनको उपचार सम्भव भएन । घटनाको सम्बन्धमा एक २१ वर्षीय व्यक्तिलाई पक्राउ गरिएको र हाल उनी प्रहरी हिरासतमा छन् ।