• जेष्ठ २६ २०८२, आईतवार

हिजोका राजाहरुका सम्पत्तिमा आज दलालको रजाईं

पुष २८ २०७७, मंगलवार

काठमाडौं । हिजोका राजा-महाराजाहरुका नाममा रहेका अचल सम्पतिमा आजका दलालहरुको रजाईं चलेको छ । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रष्टको खर्बौंको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ ।

कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने कतिपय सम्पत्ति संरक्षणको अभावमा अलपत्र छ । राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रष्टको स्थापना गरिएको थियो  तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रष्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन ।

बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको छ । लिजमा लगाएका कतिपय जग्गाबाट ट्रष्टले भाडासमेत उठाउन सकेको छैन । सम्झौता सकिएको सात महिना हुन लाग्दा पनि काठमाडौं प्लाजा खाली गर्न सकेको छैन ।

उपत्यकाकै बजार क्षेत्रका जग्गाहरूसमेत ट्रष्टले भाडामा लगाउन सकेको छैन । अन्य सहरका मुख्य ठाउँमा रहेका सम्पत्ति पनि अलपत्र छन् । ठमेलदेखि चितवनसम्मका जग्गामा मुद्धा परेको छ । जसबाट ट्रष्टले महिनामै करोडौँ गुमाइरहेको छ ।

राजनीतिक शक्ति र पहुँचका आधारमा नारायणहिटी संग्रहालय अगाडिको नेपाल ट्रष्टको एक रोपनी १४ आना जग्गा ३० वर्षका लागि लिजमा लिएको यती समूहको थामसेर्कु ट्रेकिङ प्रालिले त्यसमा भवन बनाउँदा ठूलो बदमासी गरेको छ ।

तीन तलाको भवन बनाउने सम्झौता भएकोमा अवैध ढंगले चार तला बनाएर भाडामा लगाएको छ । यस्ता उदाहारण धेरैछन् । आजको नयाँपत्रिका दैनिकले विस्तृतमा समाचार लेखेको छ ।