काठमाडौं । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै देशभर जयन्ती मनाइएको छ । उक्त क्रममा सिंहदरबारको पश्चिम मूलद्वार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उनको योगदानको स्मरण समेत गरिएको छ ।
राष्ट्रिय पोशाक तथा आ-आफ्ना लोकसंस्कृति झल्कने भेषभूषामा रहेका समाजका विभिन्न क्षेत्रसँग आबद्ध महानुभावले र्याली गर्दै शालिकमा पुगेर माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरेका थिए । उक्त क्रम दिनभर नै चल्यो ।
विसं १७७९ पुुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले बाइसौँ-चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका थिए ।
एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ । उनका ती विचारलाई नेपाली समाजले पृथ्वी नारायण शाहका दिव्य उपदेशका रुपमा बुुझ्दै आएका छन् ।
२१ वर्षको उमेरमा गद्दी आरोहण गर्नुुभएका पृथ्वीनारायणको पूरै जीवन नेपालको एकीकरणमै वितेर ५२ वर्षको उमेरमा विसं १८३१ माघ २ गते निधन भएको थियो ।
उनी र हाम्रा वीर पूर्खाको योगदान कै कारण दक्षिण एशियामा नेपाल मात्रै उपनिवेश हुनबाट जोगिएको थियो । पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा रत्नपार्कस्थित शान्तिबाटीकामा वृहद नेपालको झण्डा प्रस्तुत गरिएको थियो ।
समाजका विभिन्न क्षेत्रका महानुुभावको अगुुवाइमा भएको उक्त कार्यक्रमपछि ¥यालीले नगरका विभिन्न कार्यक्रमको परिक्रमा गरी भद्रकालीमा सभा गरेको थियो । उक्त सभामा बोल्ने वक्ताहरुले पृथ्वीनारायणको योगदानको कदर स्वरुप उनको तस्बीर अङ्कित मुुद्रा निकाल्न, पुुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन सार्वजनिक बिदाको घोषणा गर्न तथा दिव्य उपदेशलाई विद्यालय तथा कलेजका पाठ्यपुुस्तकमा समावेश गर्न माग गरेका थिए ।
पृथ्वी नारायण शाहको जीवनी झल्कने सङ्ग्राहलय स्थापना गर्न र जीवनीलाई लिएर राज्यकातर्फबाट वृत्तचित्र बनाउन पनि सो अवसरमा माग गरियो । सोही उपलक्ष्यमा सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा त्यहाँ अवस्थित पृथ्वी नारायणको शालिकमा प्रधानसेनापति पूर्णचन्द्र थापासहित उच्च सैनिक अधिकृतले पुष्पहार र पुष्पगुच्छा अर्पण गरेका थिए ।