• बैशाख १३ २०८३, आईतवार

घुस नखाने ट्राफिक प्रहरी पुरस्कृत

पुष २६ २०७७, आईतवार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनीहरुसहित ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान भइसकेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई निगरानी गर्न आजदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालन गरेको छ । उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ प्रभावकारी हुने महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख भट्टराईले सो सर्भिलेन्स भ्यानको छतमा जडित सिसी टिभी क्यामराले करीब २०० मिटरसम्मको दृश्यलाई कैद गर्न सक्ने जानकारी दिए । सवारीसाधनको चाप हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लङ्घन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने पनि उनले बताए । भ्यानमा खटिने पाँच ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्ने र सडकका गतिविधिलाई भिडियो तथा फोटोमार्फत निगरानी गर्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा र चालकलाई प्रमाणसहित कारबाही गर्न तथा थप सचेत गराउने महाशाखाको विश्वास छ ।

दुई पक्राउ

इटरनेट सेवा प्रदायक कम्पनी भायोनेटका ग्राहक तथ्याङ्कमा अनधिकृत पहुँच पुर्‍याई गोप्य सूचना फेसबुक, इन्स्टाग्राम, ट्विटरलगायत सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोमा प्राप्त निवेदनका आधारमा गरिएको अनुसन्धानका क्रममा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ बस्ने ती व्यक्तिलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको ब्यूरोले एक सूचना जारी गरी जनाएको छ । उनले विद्युतीय संयन्त्रमा अनधिकृत पहुँच राखेको आरोपमा विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ को परिच्छेद ९ बमोजिमको कसुर गरेको ब्यूरोले जनाएको छ ।

यसैबीच श्रीलङ्का पु¥याई मानव बेचबिखन गरेको आरोप लागेर फरार हुँदै आएका मोरङका ५२ वर्षीय चन्द्रप्रकाश राईलाई पक्राउ गरिएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनले एक महिलालाई भारत हुँदै श्रीलङ्का पु¥याएर मानसिक र शारीरिक यातना दिई बन्धक बनाएर बेचबिखन गरेको ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।