• मंसिर १२ २०८१, बुधबार

संविधानको गलत टिकाटिप्पणी गर्ने काम भयो : नेता पौडेल

पुष २५ २०७७, शनिबार

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टिकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन । नेपाली कांगेस तनहुँ क्षेत्र नम्बर २ क. ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उहाँले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गरेका हुन ।

नेता पौडेलले नेपालको सङ्घीयता गतिशिल ढङ्गले अगाडि बढ्न नसक्नुको कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताए । उनले भने, “नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएको थियो । त्यो निर्वाचन जित्नका लागि मात्र थियो”, । कांग्रेसको नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले बताए ।

संसद् विघटनको विरोधमा नेपाली कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ क्षेत्र नं १ क. को भानु नगरपालिकास्थित बाइसजाँगरमा, ख. को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ क. को खैरेनीटारमा र ख. को घिरिङमा विरोधसभा सम्पन्न भएको छ ।