काठमाडौं । खानेपानीमन्त्री मणि थापाले राजनीतिक अस्थिरताले राष्ट्रियता संकटमा परेको बताएका छन । उनले नेपाल कम्युनिष्ट पार्टी काभ्रेपलाञ्चोकद्वारा बनेपामा अगुवा कार्यकर्ता भेला एवं विस्तारित बैठकलाई सम्बोधन गर्दै हाल नेपाली राष्ट्रियता संकटमा परेको बताएका हुन । राजनीतिक आन्दोलन सकेर समृद्धितर्फ उन्मुख देशको अभियान रोकिएको मन्त्री थापाको भनाइ छ ।
कार्यक्रममा उनले भने “देश समृद्धिका लागि आर्थिक क्रान्तितर्फ उन्मुख भइरहेका बेला राजनीतिक अस्थिरताले राष्ट्रियतालाई सङ्कटमा पा¥यो, निर्वाचनबाट पुनः एकपटक राजनीतिक आन्दोलन सकेर राष्ट्रियता जोगाउनुपर्छ”।
समाजवादको नारालाई साकार पार्न एउटा कम्युनिष्ट पार्टीले नसक्ने भएपछि दुई कम्युनिष्ट एक भएको स्मरण गर्दै उनले एकै पार्टीका नेता एकले अर्कालाई खुइल्याउन चोटिलो प्रहार गर्नुपर्ने र देशलाई अस्थिरतातर्फ लैजान को–कसले भूमिका खेल्यो गम्भीरतापूर्वक खोजबिन गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री थापाले देशले आर्थिक क्रान्ति, स्वतन्त्रता र रोजगारी खोजिरहेको बताउँदै समाजवादतिर जान चाहने शक्ति कमजोर बनाइएको आरोप लगाए । शोषण, अन्याय र अत्याचारको अन्त्य भएको छैन, कुशल नेतृत्वकर्तालाई फेलिएर बनाउन खोजियो, वर्तमान अवस्थामा यो देशको लागि गम्भीर षड्यन्त्र भएको उनको भनाइ छ । पूर्वमाओवादीका शीर्ष नेताको अस्थिर राजनीतिले देश गम्भीर मोडमा पुगेको समेत बताए ।