• मंसिर ११ २०८१, मंगलवार

माधव नेपाल पहिलो बरियताको अध्यक्ष

पुष २५ २०७७, शनिबार

काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठकले माधवकुमार नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको छ । पेरिसडाँडामा पुस १९ मा बसेको आठौं स्थायी कमिटी बैठकले नेपाललाई पहिलो बरियताको अध्यक्षमा राखेको हो ।

आलोपालो अध्यक्ष रहने प्रणालीअनुसार, माधव नेपालले अध्यक्षता गरेकाले पहिलो बरियतामा राखेको यो समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए । ‘कोही पनि दुई नम्बर हुनुहुन्न । दुवै एक नम्बर हुनुहुन्छ’, पाण्डेले भने । पुष्पकमल दाहालकै प्रस्तावमा नेपाल पहिलो र प्रचण्ड दोस्रो बरियतामा रहेर बैठक बसेको थियो । तर अर्को बैठकको अध्यक्षता प्रचण्डले गर्नेछन् र उनी नै पहिलो बरियतामा हुनेछन् ।

‘आलोपालो अध्यक्ष भनेका छौं, त्यसको प्रारम्भ आठौं स्थायी कमिटी बैठकबाटै गरिसकेका छौं । त्यसैअनुसार, कमरेड माधव नेपालले अध्यक्षता गर्नुभयो । अर्को बैठकको अध्यक्षता अध्यक्ष कमरेड प्रचण्डले गर्नुहुन्छ । यसैगरी आलोपालो हुन्छ’, पाण्डेले भने । पार्टी एकीकरणपछि आलोपालो अध्यक्ष भने पनि केपी ओलीले प्रचण्डलाई सचिवालयको हैसियतमा झार्ने प्रयास गर्दा अहिलेको समस्या आउनु भूमिका खेलेकाले त्यसलाई सच्याएर जाने पाण्डेले बताए ।

‘बिगतमा बराबरी अध्यक्ष भन्ने, तर बैठकमा अर्को अध्यक्ष (प्रचण्ड)लाई सचिवालय सदस्यको हैसियतमा झार्न खोज्ने जुन खालको रवैया रह्यो । त्यसले अन्तरविरोध सिर्जना गर्न धेरथोर भूमिका खेल्यो । त्यसबाट हामी सचेत छौं’, उनले भने ।