काठमाडौं । भारतमा कुखुरा तथा चराचुरुंगीमा बर्डफ्लु संक्रमण देखिए पनि नेपालमा सतर्कता अपनाउन सबै तह र तप्कालाई अनुरोध गरिएको छ । नेपाल भारतीय बजार भएकाले पनि भारतमा हुने संक्रमण नेपालका लागि निकै घातक हुने गर्दछ । बर्डफ्लुका मामलामा नेपाल भारतबाटै प्रभावित र संक्रमित हुने गरेको विगतको तीतो अनुभव नेपालीहरु माझ रहेको छ ।
उत्तरी सीमा रहेको छिमेकी देश चीन लामो तथा उच्च हिमाली श्रृंखलाले जोडिएको र उससँग सीमित व्यापारिक नाका रहेकाले त्यहाँको जोखिम नेपालमा कम हुने गरेको छ । तर दक्षिणी छिमेकी देशसँगको खुल्ला तथा समथर मैदानी भाग र खुल्ला सीमाका कारण संक्रमण प्रभाव अत्यधिक रहन्छ ।
भारतको केरला राज्यमा व्यापक रुपमा फैलिएको बर्डफ्लुले त्यहाँको कुखुरा व्यवसाय चौपट बनाएको छ । लाखौंको संख्यामा कुखुराहरु नष्ट गरिइरहेका छन् । त्यहाँका ताल तलैया, झिल, पोखरी तथा नदीहरुमा हिउँदमा बसाइसराइ गरेर आएका चराहरु ठूलो संख्यामा मरिरहेका छन् । झिल तथा नदीका किनारामा हाँस प्रजातिका हिमाली चराहरु मरेर थुप्रो लागिरहेका छन् । केरला राज्यबाट हरियाना लगायतका अन्य स्थानहरुमा पनि फ्लुको संक्रमण फलैने क्रम जारी छ ।
अहिले यातायातका पर्याप्त साधन, उपभोक्ताहरुको माग र उत्पादनकर्ताहरुको आपूर्तिका शिघ्रताले गर्दा एक ठाउँको वस्तु अर्को ठाउँमा एकैक्षणमा पुगिरहेका छन् । हाल नेपालमा कुखुराको मासु निकै महंगो भएकाले भारतबाट आयात हुने क्रममा तीब्रता आएको छ ।
नाकाहरुमा क्वारेन्टाइनको व्यवस्था निकै कम छ । कतिपय क्वारेन्टाइनमा आधुनिक यन्त्र पनि छैनन् ।
त्यसैले भारतमा आएको बर्डफ्लु नेपालका लागि खतरा बनिरहेको छ ।