चितवन । केही दिनअघि माडी नगरपालिकामा ट्याक्टर दुर्घटना भयो । चालकको छातीको हड्डी भाँचियो । उनको अस्पतालमा उपचार भइरहेको छ । वसन्तपुरबाट चिरौली जाँदै गरेको ना७त ३७८५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर १ का ४२ वर्षीय दयाराम महतो घाइते हुनुभएको हो । दुर्घटना पुस १९ गते भएको थियो ।
यस्तै केही दिनअघि भरतपुर महानगरपालिकाको गोन्द्राङ्मा म्याजिक भ्यान दुर्घटना भयो । जसमा मानवीय क्षति हुन पाएन । यी दुवै घटनाका कारण थियो चालकको शारीरिक अवस्था । माडीमा भएको दुर्घटनामा चालकमा उच्च रक्तचापको समस्याले भएको हो भने टिकौलीमा भएको दुर्घटना चालकमा छारेरोग भएकाले दुर्घटना भएको पाइएको छ ।
यसरी सडकमा सवारी दुर्घटना हुँदा चालक अस्वस्थ रहेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग समन्वयमा मौलाकालिका अस्पताल भरतपुरले आज अस्पताल परिषरमा लामो तथा छोटो दूरीका सवारी साधनका चालकका निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । स्वास्थ्य परीक्षणमा आएका चालक राजकुमार गुरुङ्ग सवारी चालकको नियमित स्वास्थ्य परीक्षण गर्न आवश्यक रहेको बताए । उनले भने, “केही दिनअघि सँगै म्याजिक चलाउने साथीको गोन्द्राङ्मा दुर्घटना भयो । आखिर उसलाई छारे रोग रहेछ ।”
यस्ता दुर्घटनाले चालक मात्र नभएर सवारी यात्रा गरिरहेका यात्रु र सडकमा पैदल यात्रा गरिरहेकाहरु समेत असुरक्षित बनेको सवारी चालकले नै बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्ट चालकमा हुने दीर्घरोग पनि सडक दुर्घटनाका कारणमध्ये एक रहेको बताए । चालकको स्वास्थ्यका कारण १५ प्रतिशत दुर्घटना हुने गरेको उनको भनाइ छ । नियमित स्वास्थ्य परीक्षण गर्ने र स्वास्थ्य अवस्थ सुधार नभएसम्म सवारी नचलाउन उनले चालकलाई आग्रह गरेका हुन ।
मौलाकालिका अस्पतालका सञ्चालक डा.रमेश घिमिरेले चालकको स्वास्थ्य भनेको यात्रुको सुरक्षासँग प्रत्यक्ष जोडिने भएकाले अस्पतालले यो कार्यक्रम गरेको बताए । समुदायप्रति उत्तरदायी हुने क्रममा समाजमा यस्ता कार्यक्रम मौलाकालिका अस्पतालले विभिन्न समयमा गर्दै आएकोमा यस वर्ष चालकको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ । अस्पतालले आजको क्याम्पमा स्वास्थ्य परीक्षण गर्न आउने चालकका लागि पछि पनि अस्पतालमा २० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । सो अवसरमा ७५ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरिएको थियो । तीमध्ये अधिकांशलाई मधुमेह र उच्च रक्तचापको समस्या देखिएको घिमिरेले जानकारी दिए ।