काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको राजनीतिमा व्यापारीकरण बढेको टिप्पणी गरेका छन् । शनिबार बागलुङ उद्योग वाणिज्य संघको ५६औं साधारणसभाको उद्घाटनमा बोल्दै उनले व्यापारमा राजनीतिकरण समेत बढेको बताए ।
दशकौंदेखि राजनीतिमा व्यापार र व्यापारमा राजनीतिकरणले अर्थतन्त्र थला परेको उनको भनाइ थियो । नेपालको संविधानले राजनीतिक स्थिरता खोजेकोमा अस्थिरतातर्फ देश अगाडि बढेको भन्दै श्रेष्ठले देशको अर्थ व्यवस्था अझै खस्कने भन्दै चिन्ता व्यक्त गरे ।
‘दशकौं लामो संघर्ष र संविधान सभाबाट ६ वर्ष लगाएर बनाएको संविधानले स्थायित्व दिने आस थियो, फेरि अस्थिर राजनीति सुरु भयो,’ उनले भने, ‘जनता सडक संघर्षमा जान नपर्ने गरी सरकारले काम गर्नुपर्छ ।’ अर्थतन्त्र स्थिर बन्न लागेकै समयमा राजनीतिक घटनाक्रमले फेरि ओरालो लागेको उनको भनाइ थियो ।