काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव मोहन वैद्य ‘किरण’ले वर्तमान राजनीतिप्रति कडा टिप्पणी गरेका छन् । उनले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नभएको भन्दै संसद विघटन गर्नु सत्ताधारीहरुको अक्षम्य भूल र अपराध भएको उनको आरोप छ ।
शनिवार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित ‘अथक कम्युनिष्ट योद्धा कमरेड हर्कबहादुर शाहीः स्मृति ग्रन्थ विमोचन कार्यक्रम’मा प्रमुख अतिथिको रुपमा बोल्नेक्रममा समसामयिक राजनीतिक अवस्थामाथि टिप्पणी गर्दै किरणले उक्त कुरा बताएका हुन् । उनले कठीन र संघर्षशील इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलनमा उत्पन्न भएको संशोधनवादी धाराको नेतृत्व गर्ने सत्ताधारी डबल नेकपा क्रान्ति र अग्रगमनको बाधक मात्र नभएर नेपाली कम्युनिस्ट आन्दोलनको कलंक भएको विचार व्यक्त गरे ।
उनले भने-‘सामान्य संसदीय मान्यता अनुसार पनि यदि उनीहरुको घोषणा पत्र, जनताले दिएको जनादेश र अहिले उनीहरुले गरेका संसद विघटनसम्मका कुरालाई हेर्ने हो भने उनीहरुले अक्षम्य भूल र अपराध गर्न पुगेका छन् ।’ परिवर्तन र अग्रगमनका हिसाबले देश र जनताका लागि केही पनि काम गर्न नसकेको संसदको विघटनले जनतामा खासै प्रभाव नपार्ने र यसको पुनस्र्थापनाले पनि कुनै परिवर्तन नल्याउने भन्दै किरणले आमूल परिवर्तनको बाटो र उपाय नै नेपाली जनताका लागि एक मात्र विकल्प रहेको कुरा औंल्याए ।
देशमा शासक मात्र परिवर्तन भएका तर राज्यसत्तामा कुनै पनि परिवर्तन नभएका कारण नेपाली जनताले पटक-पटक यस्तोखाले दुर्दशा भोग्नु परेको स्मरण गराउँदै महासचिव किरणले सत्ताधारी डबल नेकपाका कारण देशमा बेथिति निम्तिएको र पश्चगमनकारी शक्तिको समेत चलखेल हुन पुगेको बताएका छन् । उनले देशमा राष्ट्रवादी शक्ति कमजोर भएको अवस्थामा विदेशी शक्तिकेन्द्रको निकै चलखेल हुने हुनाले देशको राष्ट्रियता पनि खतरामा रहने कुरामा गम्भीर हुनसमेत सचेत गराए ।