१७ पुष, काठमाडौं । अहिलेसम्म गठित सरकारहरूको तुलनामा ओली सरकारले सबैभन्दा धेरै आर्थिक बृद्धिदर हासिल गरेको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले लगनखेल ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै गृहमन्त्री ‘बादल’ले यस्तो दाबी गरेका हुन् ।
शुक्रबार (आज) नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले ललितपुर महानगरीय कार्यकर्ता भेलाको आयोजना गरेको छ । उक्त आयोजनामा उपस्थित कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अहिलेसम्म गठित सरकारको तुलनामा ओली सरकारले सबैभन्दा धेरै अर्थात् उच्च आर्थिक बृद्धिदर हासिल गरेको दाबी गरे ।
यसैगरी महानगरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा गृहमन्त्री बादलले पार्टी एकता नचहाने र देशी, विदेशी शक्तिको आडमा चल्नेहरूले पार्टी एकतालाई भङ्ग गरेको आरोप लगाएका छन् । उनले नामै तोकेर नभने पनि प्रचण्ड–नेपाल समूहलाई लक्षित गर्दै यस्तो आरोप लगाएका हुन् ।
पद लोलुपता र स्वार्थ सिद्धका लागि पार्टी एकता गरेकाहरूले नै वर्तमान राजनीतिक परिस्थितिलाई गम्भीर मोडमा पुर्याएको गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संगीन आरोप लगाएका छन् ।