• मंसिर ११ २०८१, मंगलवार

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रधानमन्त्री

पुष १५ २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन । नेकपा सुदूरपश्चिम प्रदेशस्तरीय काठमाडौँमा उपलब्ध नेता–कार्यकर्ताको भेलालाई आज सम्बोधनका क्रममा नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापना नहुने ठोकुवा गर्दै त्यसैले चुनावको तयारीमा जुट्न आफ्ना नेताकार्यकर्ता र सबै दललाई आग्रह गरेका हुन ।

यही पुस ५ गते प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिबाट प्रतिनिधिसभाको विघटन भई आगामी वैशाख १७ र २७ गते निर्वाचनको मिति तोकिएको छ । सो विषय हाल सर्वोच्च अदालतमा विचारधीन छ । उनले यस स्थितिमा अर्को सरकार बन्ने स्थिति पनि नभएको र संसद् पुनःस्थापना हुन नसक्ने भएकाले सडकमा आन्दोलन गर्नाको आवश्यकता नरहेको पनि जिकिर गरेका हुन । उनले भने “म प्रतिनिधिसभाको ६४ प्रतिशत मतप्राप्त नेताका हैसियतले सरकार सञ्चालनमा बाधा उत्पन्न भई संसद् विघटनको निर्णयमा पुगेको हुँ । राजनीतिक आग्रहका आधारमा पुनःस्थापना हुन सक्दैन । विघटनको निर्णय संविधानअनुसार नै गरिएको हो । चुनावमा आउनुस्। चुनाव स्वच्छ, शान्तिपूर्ण र धाँधलीरहित हुनेछ ।