• मंसिर ११ २०८३, बिहीबार

चोलेन्द्रसँग जोडिएको नेपाली चोला !

मंसिर ११ २०८३, बिहीबार

‘दशैँपछि देशमा भीषण सडक सङ्घर्ष हुन्छ, बालेनको सरकार ढालिन्छ’, यो अभिव्यक्ति प्रम बालेन्द्र शाह संयुक्त राष्ट्र सङ्घद्वारा आयोजित महासभाको ८१औँ सत्रलाई सम्बोधन गर्न २५ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क सहर पुगेको बेलामा निकै मुखरित हुन पुग्यो ।

सबैलाई लागेको थियो, देशमा अब फेरि बेमौसमको खिचडी पाक्न थालिसकेको छ । जेन्जी आन्दोलनमा पाकेको खिचडीको स्वाद पहिचान हुन नपाउँदै अर्को खिचडी पाक्ने कुरा जनतामा त्यति चासोको विषय बनिरहेको पनि थिएन ।

तर नेपालका एकतहका ‘एलिट सर्कल’को भने अनुहार नै बिग्रने गरी मुख रसाउन थालिसकेको थियो । वौद्धिक तथा जनमानसको तहमा भने फेरि देश अर्को पटक आगोको भूमरीमा पर्ने भयो भन्ने चिन्ताले जबर्जस्त घर गर्न थालिसकेको थियो ।

जेन्जी आन्दोलनले भित्र्याएको सन्त्रास र सन्नाटा अहिले पनि अनुत्तरित छ । ‘घुँडामाथि पिलो थप’ भनेझैँ फेरि अर्को सन्त्रास र सन्नाटाको आभाष कसैका लागि पनि शुभसङ्केत थिएन र होइन पनि ।

नेपालले भूराजनीतिक अवस्थितिका कारण विदेशी स्वार्थमा पटकै पटक जलेरै खरानी हुनु पर्ने नियति कति पटक भोग्ने ? यो सोच्नै पर्ने विषय बनिसकेको छ । एकताका जनताका नाममा लडिएको ‘जनयुद्ध पनि भूराजनीतिक चलखेल’ थियो भनी यसकै हर्ताकर्ताले घुमाउरो अभिव्यक्ति दिनथालेपछि जनताले गम्भीर भएर सोच्नै पर्ने बेला आएको छ ।

सत्तासिन होउन् वा सत्ताबहिर्गमित कुलिनहरू ! यिनको हातमा सत्ता रहनु र नरहनुले जनताका दिनचर्यामा तात्विक भिन्नता ल्याउँदैन । तर यिनै कुलिनहरूको एकआपसमा सत्ता खिचातानीले नेपाली जनता र सिङ्गो देशले सास्ती खेप्नु परिरहेको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र राणासँग जोडिएको दुष्चक्रको गुत्थीको छेउँ सत्ताबहिर्गमित कुलिनहरूसँग गाँसिएको छ भने यसको टुप्पो सत्तासिन कुलिनसँग बेह्रिन पुगेको छ । राणा उदीयमान र स्तयमान कुलिनका बीचमा एक ‘गतिशील पुल’ हुन् । राजनीतिक महत्वाकाङ्क्षाले यिनलाई यस्तै काण्डका ‘राजा’ बनाइरहन्छ ।

प्रधानन्यायाधीश रहँदाका बखत काङ्ग्रेस, एमाले र माओवादी नेतृत्वको जमघट र रासोबासो यिनै राणाकै पटाङ्गिनीमा हुन्थ्यो । त्यति बेला यिनी अघोषित श्री ३ महाराज थिए । पलपलको कल रेकर्ड अहिले पनि नेपाल टेलिकम र एनसेलको मुख्यालयमा सुरक्षित छ ।

पटाङ्गिनीको संयुक्त भेलामा शक्ति र आयस्रोत बाँडफाँड र बार्गेनिङमा कुरा नमिलेपछि तात्कालिन प्रन्या राणाविरूद्ध महाअभियोग यिनैले दर्ता गरे । तर त्यो महाभियोग निर्णयमा पुर्‍याउने दम यिनीहरू कसैमा देखिएन ।

कारण थियो, महाअभियोग निष्कर्षमा पुर्याएको भए काङ्ग्रेस, एमाले र माओवादी नेताहरूको कुकृत्य उति नै बेला छ्याल्लब्याल्ल हुने थियो । अनि तैँ चूप मै चूप ! यो बेलामा नेपाली राजनीतिमा दिल्लीको चासो केही प्रवल थियो ।

अहिले अमेरिकाको चासो र दख्खल प्रवल छ । सरकार फेरिएको छ, जेन्जी आन्दोलनपछि । तर सत्ताको चाजोपाँजो गर्ने र बन्दोबस्त मिलाउने कुलिन सर्कल उही छ । अमेरिकाले पत्याउने पनि उही र भारतलाई विश्वास गर्ने पनि उही !

बार्गेनिङ त पेसा र आवश्यकता हो सरकारलाई चारैतिरबाट घेरा मारेर बस्ने यो कुलिन सर्कलको ! यो सर्कललाई साथमा लिएपछि सरकार धान्न सजिलो हुन्छ । यो बालेन सरकारको पनि बाध्यता थियो । यही पृष्ठभूमिमा पेन्डिङ रहेको महाभियोगबाट छुट पाएर पेन्सन र सरकारी सुविधा पाउने भएपछि राणा बालेन सरकार नजिक भएका थिए । पुराना दलमाथि उनलाई ‘इख’ फेर्न सजिलो पनि गरायो यसले ।

उता सत्ता बहिर्गमितको अर्को तातोआलु ! दक्षिण दाहिना बन्दै जानु र पुराना पार्टीहरूबाट सर्वमान्य स्थान प्राप्तिको शुभसङ्केतसहित चाँदीको कलशमाथि रातो फूल अघिल्तिर टक्रिएपछि यसले उनीभित्र मुर्झाएको राजनीतिक अभिलाषामा प्राणवायु भरिदियो ।

उनी दशैँपछि हुने भनिएको पर्दापछाडिको खेलको मुख्य साँचो बने । सुपर एआईको सूचना सञ्जालले यो कुरा संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका प्रम बालेन शाहको कानमा क्षणभरमै पुर्‍यायो ।

दुईतिहाई बहुमत नजिकको सरकार भएका हुनाले पाकिस्तानी पूर्वराष्ट्रपति परवेज मुसर्रफले झैँ आकाशबाटै वा विदेशीभूमिबाटै प्रम बालेनलाई ‘कमाण्डो अट्याक’ भने गर्नु परेन । तर स्वदेश फिर्ता भएकै रात गिरफ्‌तारीको काम तमाम भयो । अहिले सोको छानबिन सिंहदरवारदेखि कमिलाकुटीसम्म पुगिरहेको छ ।

सडक आन्दोलनको धुमिल आवरणभित्र रास्वपामा रबि र बालेनबीचमा फुट ल्याउने, काङ्ग्रेसका गगन थापालाई अघि सार्ने, एमाले र माओवादीले यसमा काँध थाप्ने अनि ‘गरखपु’ सरकार गठन गर्ने । तर यो तानाबानामा बुनिएको सहमतिमा जस्तो त्यति सजिलो भने थिएन ।

यसले देशलाई कोत, भण्डार र अलौ पर्वको अन्तहीन श्रृङ्खलाको रक्तपातमा धकेलिदिने थियो । यो जेन्जी आन्दोलनपछिको रकतपातपूर्ण सिक्रिको माला बन्ने थियो । किनकि यो विना विचार, विना नेतृत्व, विना जनसहभागिता, फगत सरकार हत्याउने षड्यन्त्रकारी कदमजस्तो थियो ।

यहाँनेर अमेरिकी पूर्व राष्ट्रपति रिचर्ड निक्सनका पालामा सल्लाहकार रहेका हेनरी किसिन्जरको उक्तिलाई गम्भीरताका साथ मनन गर्नु उपयुक्त देखिन्छ । उनले भनेका थिए, अमेरिकासँग मित्रता गरियो भने आऊ सँगसँगै लड्न जाऔं भन्छ, दुश्मनी गरियो भने मसँग लड्न तयार होऊ भन्छ ।

नेपालको भूराजनीतिक सम्बन्धमा भारत र चीन छिमेकी भए पनि अमेरिका आकाशको छिमेकी बनेर जोडिएको छ । हर कदम भूईँ फुकेरै सतर्कताका साथ चाल्नुपर्दछ । चीन र भारतको स्वार्थ पनि एकेक हेक्का राखिनु पर्छ । यो हाम्रो नियतिको कुरा हो ।

भाग्य भनौ या दुर्भाग्य ! नेपाली काङ्ग्रेसका सभापति गगन थापाले आफ्नो पार्टी नेपाली काङ्ग्रेस अर्को निर्वाचन नहुँदासम्म कुनै पनि पार्टीसँग मिलेर गठजोडको सरकार नबनाउने घोषणा गरेपछि पर्दा पछाडिको सत्ता उथलपुथलको यो अध्यायमा अर्धविराम लागेको जस्तो देखिन्छ ।

विचारका हिसाबले अहिले नेपाली काङ्ग्रेसको कुन वैदेशिक शक्तिसँग सापेक्ष निकटता छ भन्ने प्रश्नतिर नजाऔं । नेपाली मन र नेपाली तनका हिसाबले सोचौं । भूराजनीतिक चलखेललाई सकेसम्म कम गर्न प्रयास गरौं । हिजो सत्ता गुम्नासाथ आजै पुराना दलका नेताहरूको ढुकढुकी नै बन्द हुन लागेको जस्तो नगरौं ।

नेता आउँछन्, जान्छन् । देश जनताको हो । सन्तान दरसन्तानहरूको हो । तपाईहरूले सबै सिध्याएरै जानुपर्ने केही पनि छैन । आजको बालेन शाह तपाईहरूले पिच गरेको एमसीसीको कालोपत्रेयुक्त सडकहुँदै बुलेट ट्रेनमा सर्र क्षणभरमै उदाएका हुन् ।

यस्तो गति प्रदान गर्नुभएकोमा तपाईहरू सबै साधुवादको पात्र हुनुहुन्छ । ‘हामीले एमसीसी पारित गरिदिएर पनि किन अमेरिकाले लात हान्यो’ भन्ने बूढेसकालको घिटकिसो मात्र हो तपाईहरूको । चोला फरक भए पनि बालेन सरकारको आगमन तपाईहरूको नयाँ स्वरूप मात्र हो । ठोंर, चुच्चो, खाप्चो र कदबाहेक अरूमा भिन्नता छैन । सत्ताको आश धेरै नगर्नुस् बरू बाँचेर हेर्नुस् । चिरञ्जीवी भवः !

यदि केही गर्ने नै हुटहुटी छ भने विचार ल्याउनुस् । जनताका बीचमा जानुस् । जनतालाई रिझाउनुस् र विश्वास दिलाउनुस् । जनताले भनेझैँ गर्नुस् । पहिलो कुरा त तपाईंहरूले मनतातो पानी पुङ्न सक्ने गरी बेडको छेउँमै राखेर सुकला गर्नुस् ।

छोराछोरी र नातिनतिनालाई ‘गरिखाओ नानी हो’ भन्नुस् । जीवनले पनि चोला बदल्छ । पुस्ताले पनि चोला बदल्छ । समाजले पनि चोला बदल्छ । तर देशलाई दर्जनौंपटक आगो लगाएर चोला बदल्न अभिषप्त नपारिराख्नुस् । बरू अहिलेलाई चोलेन्द्र नै बदल्नुस् ।