काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा नेपाल र भारतबीच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुवैतर्फ सञ्चालन गर्ने सहमति भएको छ ।
लामो समयदेखि एकतर्फी रूपमा मात्रै सञ्चालन हुँदै आएको बी३४५ हवाई रुटलाई अब द्विदिशात्मक बनाउने विषयमा दुई देशबीच समझदारी बनेको हो ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयन क्षेत्रका विषयमा भइरहेको छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ ।
हवाई सम्पर्क विस्तार तथा दुई देशबीचको आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित बी३४५ काठमाडौं–भैरहवा–लखनउ रुटलाई द्विपक्षीय अर्थात् दुवैतर्फ सञ्चालनयोग्य बनाउने सहमति भएको वक्तव्यमा जनाइएको छ ।
यस सहमतिसँगै अब भारतको लखनउबाट भैरहवा हुँदै काठमाडौं प्रवेश गर्ने हवाई उडानका लागि समेत उक्त रुट प्रयोग गर्ने बाटो खुल्नेछ ।
हालसम्म यो रुट नेपालबाट भारततर्फ जाने विमानका लागि मात्रै उपलब्ध थियो । अब भारतबाट नेपालतर्फ आउने उडानले पनि यही हवाई मार्ग प्रयोग गर्न सक्ने व्यवस्था मिलाउने सहमति भएको हो ।
यद्यपि, सहमति तत्कालै कार्यान्वयनमा आउने भने यसका लागि दुवै देशका प्राविधिक अधिकारीबीच थप परामर्श हुनेछ । संयुक्त वक्तव्यमा प्राविधिक परामर्शमार्फत रुट सञ्चालनका आवश्यक प्रक्रिया, कार्यविधि तथा अन्य प्राविधिक पक्ष टुंगो लगाइने उल्लेख छ ।
साथै, दुवै देशबीच छलफलमा रहेका नागरिक उड्डयन क्षेत्रका अन्य प्रस्तावलाई समेत यही प्रक्रियामार्फत अघि बढाइने भएको छ ।
नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्दै आएको छ । विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न भारतीय हवाई क्षेत्र हुँदै नेपाल प्रवेश गर्ने थप रुट आवश्यक रहेको नेपालको माग रहँदै आएको छ ।
हाल पश्चिमबाट नेपाल प्रवेश गर्ने धेरै अन्तर्राष्ट्रिय उडानले सिमरा हुँदै नेपाली आकाशमा प्रवेश गर्नुपर्ने बाध्यता छ । यसले पश्चिम नेपालतर्फका विमानस्थलमा अवतरण गर्ने उडानलाई लामो दूरी तय गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।
भैरहवा विमानस्थलका लागि पश्चिमतर्फबाट आउने विमानले पूर्वतर्फ घुमेर पुनः पश्चिम फर्किनुपर्ने भएकाले उडान दूरी, समय र इन्धन खर्च बढ्ने गरेको छ ।