• मंसिर ८ २०८३, सोमबार

दिल्लीमा नेपाल र भारतबीच आठवटा समझदारीपत्रमा हस्ताक्षर

मंसिर ८ २०८३, सोमबार

नयाँ दिल्ली । नेपाल र भारतबीच आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सोमबार प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि ती समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा दुई देशका अधिकारीले ती समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

भारतको गुजरात, गान्धीनगरस्थित ‘नेशनल फरेन्सिक साइन्सेस युनिभर्सिटी’ र नेपाल प्रहरीको ‘अपराध अनुसन्धान विभाग’बीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारतको ‘राष्ट्रिय रक्षा विश्वविद्यालय’ र नेपालको ‘राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान’बीच पनि समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको ‘प्रशासनिक सुधार तथा गुनासो विभाग’ अन्तर्गतको ‘नेशनल सेन्टर फर गुड गभर्नेन्स’ र नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको ‘प्रशासनिक स्टाफ कलेज’बीच नेपालका निजामती कर्मचारीहरूका लागि क्षमता अभिवृद्धि तालिम कार्यक्रमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीका क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

‘दक्षिण एसिया स्याटेलाइट’को उपयोगका लागि ‘स्याटेलाइट सञ्चार  नेटवर्क’ स्थापना गर्ने विषयमा भारत सरकारको ‘भारतीय अन्तरिक्ष अनुसन्धान संगठन’ र नेपाल सरकारको ‘सूचना तथा सञ्चार मन्त्रालय’बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

स्वास्थ्य तथा चिकित्साका क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकारको ‘स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय’ र नेपाल सरकारको ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पशुधन तथा मत्स्य विकासका क्षेत्रमा सहकार्य गर्ने विषयमा भारत सरकार र नेपाल सरकारबीचको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।