• कार्तिक ३० २०८३, आईतवार

अबदेखि बसाइँ सरेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन पाइने

कार्तिक ३० २०८३, आईतवार

काठमाडौँ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले बसाइँ सरेकै ठाउँबाट समेत नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ ।

नियमावलीको नियम १६ ख मा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सकिने अवस्था, प्रक्रिया र आवश्यक कागजातबारे स्पष्ट व्यवस्था गरिएको हो। नियम १६ ख को उपनियम (१) अनुसार अब पाँच अवस्थामा नागरिकता वा गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सकिनेछ।

जसमा आगलागी भई वा पानीले भिजी नष्ट भएमा, च्यातिई काम नलाग्ने भएमा, हराएमा, बसाइँसराइ भएमा वा नयाँ ढाँचामा आवश्यक भएमा प्रतिलिपि लिन सकिने उल्लेख छ।

प्रतिलिपि लिन चाहने व्यक्तिले आवश्यक कागजात संलग्न गरी सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ।

नेपाली नागरिकताको प्रतिलिपिका लागि ऐनको दफा ३ र ५ बमोजिम जारी भएको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपिका लागि च्यातिई काम नलाग्ने भएको, बसाइँसराइ भएको र नयाँ ढाँचामा आवश्यक भएको अवस्थामा नागरिकताको सक्कल प्रति पेस गर्नुपर्नेछ।