काठमाडौं : पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले ३५ वर्षसम्म केही भएन भन्ने विवेकहीन र अराजक निरंकुश प्रवृत्ति राज्यमा अहिले हाबी भएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेसम्म यो भएको विकासलाई केही पनि होइन भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका हुन्।
‘यो भएको विकासलाई केही पनि होइन। केही पनि भएन ३५ वर्षसम्म भन्ने विवेकहीन र अराजक, निरंकुश प्रवृत्ति राज्यमा हाबी छ अहिले।’ नेकपाका संयोजक प्रचण्डले व्यङ्ग्य गर्दै भने, ‘तपाईंहरुले ध्यान दिनुभएको होला, सरकारको कामकारबाही हेर्दा त्यो हिन्दी जासुसी फिल्ममा हुँदै नभएको काम देखाउँछ नि, त्यस्तै छ सरकारको काम कारबाही।’
उनले गणतन्त्र आएपछि शिक्षामा व्यापक सुधार भएको बताए। उनले भ्रष्टाचार र सुशासनको पक्षमा चलाउँदा आफू नेतृत्वको सरकारलाई अपदस्त हुनुपरेको बताए। उनले नेपालमा भ्रष्टाचारी र बिचौलिया बलिया रहेको आरोप लगाए। उनले भने,‘हामीभन्दा, भ्रष्टाचारको विरुद्ध लड्नेभन्दा भ्रष्टाचारी बलिया रहेछन् नेपालमा । बिचौलिया बलिया रहेछन् नेपालमा। हामीले हार्यौं, तिनिहरुले जिते।’
सामाजिक न्यायको पक्षमा काम गर्न सुरु गरेबापत, समृद्धिको इमान्दार प्रयास गरेबापत यस्तो स्थिति बनेको उनको भनाई छ। उनले भने, ‘सामाजिक न्यायको पक्षमा काम गर्न सुरु गरेबापत, समृद्धिको इमान्दार प्रयास गरेबापत यस्तो स्थिति बनेको छ। जसरी हामीलाई अपदस्त गर्न खोजिएको छ। देश दुर्घटनामा जाने निश्चित छ भनेर खबरदारी गर्दा गर्दै गइगयो। राष्ट्र नै के हुने भन्ने स्थिति छ अहिले। सरकार कसरी चल्छ भन्ने मात्र होइन।’
प्रचण्डले बलिदान र आन्दोलनबाट परिवर्तन जुन नेतृत्वले ल्यायो त्यसलाई मूल्याङ्कन गर्ने जिम्मा नेपालीको भनाई बताए। नयाँ राष्ट्रिय एकताको परिचय दिनुपर्ने बेला आएको प्रचण्डले बताए।