• कार्तिक ६ २०८३, बिहीबार

अमेरिकाले सबै बमकी माता देखाउँछ भने हामी सबै बमका पिता देखाउँछौं : इरानी कमान्डर

कार्तिक ६ २०८३, बिहीबार

तेहरान l अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी गरिरहेका बेला तेहरानले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

द न्यु योर्क टाइम्सका अनुसार, अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधार, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाहीको योजना बनाएका छन् ।

इरानी रिभोलुसनरी गार्ड कर्प्सका प्रवक्ता हुसेन मोहेबीले अमेरिकासँग ‘सबै बमकी आमा’ भनिने शक्तिशाली बम रहेको उल्लेख गर्दै इरानले त्यसको जवाफमा ‘सबै बमका पिता’ देखाउने चेतावनी दिएका छन् । तर, इरानले उक्त हतियारको स्वरूप र क्षमताबारे खुलाएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको भूमिगत पिक्याक्स माउन्टेन आणविक केन्द्रमा २२ हजार पाउन्ड तौलको एमओएबी बम प्रयोग गर्ने विचार गरेको भन्ने प्रतिवेदनपछि इरानको चेतावनी आएको हो ।

यद्यपि, विशेषज्ञहरूले उक्त बमले ग्रेनाइट चट्टानभित्र रहेको केन्द्र नष्ट गर्न सक्नेमा शंका व्यक्त गरेका छन् । ट्रम्पले नयाँ आक्रमणलाई स्वीकृति दिन्छन् वा दिन्नन् भन्ने अझै स्पष्ट छैन ।

अमेरिकाले नोभेम्बरको सुरुसम्ममा तीन विमानवाहक युद्धपोत, हजारौँ नौसैनिक, लडाकु विमान र विशेष सैन्य बलसहित ठूलो सैन्य शक्ति तयारी अवस्थामा राख्ने योजना बनाएको छ ।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले दबाब र युद्धका बाबजुद आफ्नो देश दृढ रहने बताएका छन् ।