• आश्विन ५ २०८३, सोमबार

भरत दाहालकाे रिहाइकाे लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता

आश्विन ५ २०८३, सोमबार

काठमाडाैं । आइतबार गिरफ्तारीमा परेका त्रिमुल नेपाल पार्टीका अध्यक्ष एवम् विश्लेषक भरत दाहालका लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको छ ।

अध्यक्ष दाहालकी छोरीले सोमबार उक्त रिट दायर गरेकी हुन् । सत्य र न्यायको खोजी अभियानको सहयोगमा उक्त रिट दर्ता भएको उक्त अभियानका सदस्य सुवास ढकालले जानकारी गराए ।

सत्य र न्यायको खोजी अभियानका संयोजक वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ, अधिवक्ता हरिप्रसाद कँडेल र अर्का अधिवक्ता युवराज कोइरालाले उक्त रिट दर्ताका लागि सहयोग गरेका हुन् ।

पार्टी कामका सिलसिलामा कोसी प्रदेशको मोरङ पुगेका दाहाल उतैबाट पक्राउ परेका थिए । आइतवार बेलुका काठमाडौँ ल्याइएका दाहालका लागि सोमबार मात्रै उक्त रिट दर्ता भएको हो ।

ग्रे जोन पत्रिकामा प्रकाशित सार्वजनिक विषयमा भरत दाहालले बोलेको विषयमा साइवर अपराधको आरोप लगाएर दाहालाई पक्राउ गरिएको बताइएको छ । यद्यपि,के कारणले पक्राउ गरिएको हो सरकारले अहिलेसम्म खुलाएको छैन ।

अध्यक्ष दाहाल पक्राउ परेको विषयलाई लिएर सर्वत्र सरकारको आलोचना भैरहेको छ । राजाको प्रत्यक्ष शासन कालमा समेत लेख्न बोल्न बन्देज नलगाइएकोमा अहिले गणतन्त्रमा समेत भरत दाहालले बोलेकै आधारमा,लेखेकै आधारमा पक्राउ पर्नु खेदजनक रहेको धेरैले बताउदै आएका छन् ।

लामो समयदेखि राजनीतिमा सक्रिय भरत दाहाल आजको राजनीति परिवर्तन आउनुमा कहिँ न कहिँ योगदान पुराएका व्यक्ति समेत हुन् । अभियान्ता ढकालका अनुसार भोलि मंगलबार उक्त रिट पेशी चढ्नेछ र सुनुवाइ समेत हुनेछ ।