• आश्विन ५ २०८३, सोमबार

आफ्नैसित केपी ओलीकाे आक्रोश : ‘मलाइ हटाउने फाैसला गर्ने कुन न्यायाधीश हाे’ ?

आश्विन ५ २०८३, सोमबार

काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई हटाउनुपर्छ भन्दै सामाजिक सञ्जाल र मिडियामा बोल्ने नेताहरूसँग आक्रोशित भएका छन् । सोमबार (असोज ५) बाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा ओलीले पार्टीभित्रै केही व्यक्ति र तत्व समस्या सिर्जना गर्न उद्धत भएको आरोप लगाए ।

उनले पार्टीभित्रको बहस मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ भनेर बोलेकोमा आपत्ति जनाए । “अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो । यस्ता कुरा बोल्ने को न्यायाधीश ?,” ओलीले भने, “तपाईं पार्टीभित्र हुनुहुन्छ भने कमिटीमा छलफल गर्नुस् । राय राख्नुस् ।”

उनले विपक्षीको मनोबल उठाउने भूमिका नखेल्न चेतावनी दिए । “बाहिर गएर जग हसाईं गर्ने, पार्टीको अवस्था कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने क्रियालाप हुनुहुँदैन,” उनले भने ।
ओलीले थपे, “यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने अवस्था सिर्जना भएको छ । ओलीले पार्टीभित्र खुला बहस गर्न आग्रह गरे ।

उनले पार्टीलाई चुनौती सामना गर्ने गरी उभ्याउनुपर्ने धारणा राखे । “वैचारिक, सांगठनिक ढंगले एकताबद्ध पार्टी बनाउनुपर्छ, अनुशासित गतिशील पार्टी बनाउनुपर्छ । चुनौती सामना गर्ने पार्टीको रुपमा हामीले उभ्याउनुपर्छ,” ओलीले भने ।