काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा भोलिबाट मोबाइल लैजान नपाउने बताएका छन् ।
रामबाग महलमा सुरु भएको बैठकमा उनले भोलिदेखि मोबाइल लैजान नपाउने व्यवस्था गरिने सुनाए ।
“भोलिदेखि हामी मोबाइल बाहिर राख्ने व्यवस्था गर्छौं । आज मोबाइल स्विचअफमै हुनु राम्रो हुन्छ,” ओलीले भने, “बैठकभित्र मोबाइल हेर्ने, चलाउने, मोबाइलमा कुरा गर्ने अनुमति हुँदैन ।”
ओलीले भिडियो खिच्ने, अडियो रेकर्ड नगर्न, लाइभ नगर्न निर्देशन दिए । उनले आसन छोड्दा अध्यक्षको अनुमति लिनुपर्ने, बोल्दा अध्यक्षको ध्यानकर्षण गराएर अनुमति प्राप्त भएपछि मात्रै बोल्न पाउने बताए ।
विशेष परिस्थितिमा अध्यक्षलाई लागेमा समय हेरफेर हुनसक्ने उनको भनाइ छ । ओलीले आज राजनीतिक प्रतिवेदन पेस हुने र पढ्नका लागि समय दिइने बताए ।
“नोट गरेर संक्षिप्त फर्ममा बोल्छौँ । समय बाँड्दा तीन मिनेटभन्दा बढी प्राप्त गर्ने स्थिति देखिँदैनँ,” उनले भने ।
ओलीले लिखित रूपमा व्यवस्थित ढंगले आफ्ना कुरा बुँदागत राख्न निर्देशन दिए । नभ्याएका कुरा नोट गरेर बुझाउन निर्देशन दिए ।