• आश्विन ३ २०८३, शनिबार

पाकिस्तानी पूर्वप्रम खानलाई रिहा गर्न बेलायती पूर्वप्रम जाेनसनकाे अपिल

आश्विन ३ २०८३, शनिबार

काठमाडौं । ब्रिटेनका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट रिहा गर्न बेलायती सरकारसँग हस्तक्षेपको अपिल गरेका छन् ।

जोन्सनले शुक्रबार बेलायती पत्रिका ‘डेली मेल’मा प्रकाशित आफ्नो लेखमा जेलमा रहेका इमरान खानको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको रिहाइको माग गरेका हुन् ।

लेखमा जोन्सनले ७३ वर्षीय इमरानलाई लामो समयसम्म एकान्त कारावासमा राखिने गरेको दाबी गरेका छन् । उनका अनुसार इमरानलाई राखिएको कोठामै शौचालय रहेको र त्यसको आकार निकै सानो छ । जोन्सनले इमरान खानको जेल कोठामा झ्याल नरहेको र कहिलेकाहीँ बत्ती निभाएर अँध्यारोमा राख्ने गरिएको आरोप पनि लगाएका छन् ।

यद्यपि, इमरान खानले जेलमा पाइरहेका सुविधाबारे पाकिस्तानमा यसअघि सार्वजनिक भएका आधिकारिक प्रतिवेदनमा भने फरक विवरण उल्लेख गरिएको थियो ।

बीबीसी उर्दूका अनुसार फेब्रुअरीमा पाकिस्तानको सर्वोच्च अदालतद्वारा नियुक्त ‘फ्रेन्ड अफ द कोर्ट’ ब्यारिस्टर सलमान सफदरले रावलपिन्डीस्थित अदियाला जेल पुगेर इमरान खानसँग भेट गरेका थिए । त्यसपछि उनले बुझाएको प्रतिवेदनमा इमरान खानले बताएका परिस्थितिका साथै आफूले प्रत्यक्ष देखेका सुविधाको विवरण उल्लेख गरेका थिए ।