काठमाडौँ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज र भोलि वडा अधिवेशन हुनेछ ।
वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्यका लागि मनोनयन गर्ने अधिकारसमेत दिइएको छ । जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिकाका वडा सभापतिले ६ र महानगरपालिकाका वडा सभापतिले सातजनालाई मनोनयन गर्न पाउनेछन् ।
वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । विधानमा समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था छ ।
गाउँ, नगर, उपमहानगर र महानगरका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ । त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ केन्द्रीय महाधिवेशन हुनेछ ।