• भाद्र ९ २०८३, मंगलवार

दुई वर्षीया बालिका हत्या आरोपमा सौतेनी आमा पक्राउ

भाद्र ९ २०८३, मंगलवार

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार शम्भुनाथ नगरपालिका–२ कंकडभिट्टी टोलमा घर भई हाल शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारमा बस्दै आएकी २५ वर्षीया मुस्कान भन्ने जास्मिन खातुनलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार शम्भुनाथ नगरपालिका–३ ट्राफिक बजारस्थित जाहेरवाली रबिना खातुनको घर पछाडि रहेको झाडीमा दुई वर्षीया बालिकाको शव फेला परेको थियो। घटना सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बालिकाको हत्या गरेको आरोपमा खातुनलाई तत्काल पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकी खातुनले सोधपुछका क्रममा आफूले नै बालिकाको हत्या गरेको स्वीकार गरेकी छन्। उनी मृतक बालिकाकी बुबाको कान्छी श्रीमती रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय सप्तरीमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेकी खातुनलाई जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घटना २०८३ भदौ ७ गते बिहान करिब १०ः३५ बजे शम्भुनाथ नगरपालिका–३ स्थित जाहेरवालीको घर पछाडि रहेको झाडीमा भएको प्रहरीले जनाएको छ।