काठमाडौं। माया तथा सद्भाव फाउन्डेसन नेपालको चौथो महाधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। महाधिवेशनले भुषण खरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

महाधिवेशनबाट उपाध्यक्षमा निसा देसार, महासचिवमा आनन्द राई, सचिवमा रञ्जना प्रधान र कोषाध्यक्षमा गायत्री राना मगर चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यमा राजकुमार श्रेष्ठ, कमल तामाङ, विश्व नेपाली र अम्बर क्षेत्री चयन भएका हुन्।

यसअघि संस्थाकी अध्यक्ष कविता आलेको सभापतित्वमा उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रममा अध्यक्ष आलेले आफ्नो चारवर्षे कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण कार्यसमिति सदस्य तथा माया तथा सद्भाव फाउन्डेसनका शुभेच्छुक कलाकारहरूप्रति धन्यवाद व्यक्त गरिन्।

आफ्नो कार्यकालमा नेपाली कला, साहित्य तथा संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका दुई जना कलाकारलाई सम्मान गर्न पाएकोमा उनले खुशी व्यक्त गरिन्। कार्यक्रममा सहभागी वरिष्ठ तथा उदयीमान कलाकारहरूले नेपाली कला, साहित्य तथा संगीत क्षेत्रमा पुर्याएको योगदानको पनि उनले खुलेर प्रशंसा गरिन्।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबै सहकर्मीप्रति विशेष धन्यवाद व्यक्त गर्दै आलेले नेतृत्वको जिम्मेवारी नयाँ कार्यसमितिलाई हस्तान्तरण गरे पनि नेपाली कला, साहित्य तथा संगीत क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने बताइन्। कला क्षेत्रमा आबद्ध सबै कलाकार एकजुट भएर नेपाली कला, साहित्य तथा संगीतको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा उनले जोड दिइन्।

उद्घाटन सत्रका प्रमुख अतिथि कवि तथा गीतकार विप्लव प्रतीकले आफूलाई प्रमुख अतिथिका रूपमा सहभागी गराएकोमा आयोजकप्रति धन्यवाद व्यक्त गरे। उनले सम्मानित कलाकारहरूलाई बधाई तथा शुभकामना दिँदै संस्थाकी अध्यक्ष तथा गायिका कविता आलेको योगदानको प्रशंसा गरे।

नेपाली कला, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याउने कलाकारलाई राज्यले समेत सम्मान गर्नुपर्ने प्रतीकको भनाइ थियो। कार्यक्रममा लेखक तथा गीतकार बुलु मुकारुङ, वरिष्ठ संगीतकार राजु सिंह र लेखक तथा संस्थाका जेष्ठ नागरिक मानबहादुर बुढामगर विशेष अतिथिका रूपमा सहभागी थिए।
उनीहरूले नेपाली कला, साहित्य तथा संगीत क्षेत्रमा योगदान पुर्याएका कलाकारलाई संघसंस्थाले मात्र नभई राज्यले नै संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। मौलिक कला, साहित्य र संगीतका माध्यमबाट समाजमा सकारात्मकता र खुसी ल्याउन सकिने उनीहरूको भनाइ थियो। कला क्षेत्रमा लागेका कलाकारले आफ्नै क्षेत्रमा आत्मसम्मानका साथ जीवनयापन गर्न सक्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने उनीहरूले बताए।

दुई कलाकार सम्मानित
महाधिवेशनका अवसरमा नेपाली कला, साहित्य तथा संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका कृष्णबहादुर गन्धर्व र लोचन भट्टराईलाई सम्मान गरिएको थियो।

सम्मानित कलाकार लोचन भट्टराईले संस्थाले आफ्नो कला क्षेत्रको योगदानलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरिन्। उनले संस्थाकी अध्यक्ष तथा गायिका कविता आलेको गायनकलाबाट आफू प्रभावित भएको बताइन्।

कला र संगीतको क्षेत्र निकै वृहत् रहेको उल्लेख गर्दै भट्टराईले यस्ता महत्वपूर्ण विषयलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिइन्। उनले सम्मानित अर्का कलाकार कृष्णबहादुर गन्धर्वलाई पनि बधाई तथा शुभकामना दिँदै उनको संगीत कलाको प्रशंसा गरिन्।
संगीतमा गन्धर्व जातिको योगदान र इतिहासका विषयमा पुस्तक लेखिनुपर्नेमा उनले जोड दिइन्। संगीत क्षेत्रमा कलाकारहरूका आ–आफ्नै लुकेका प्रतिभा हुने भएकाले त्यसको पहिचान र अभिलेखीकरण आवश्यक रहेको उनको भनाइ थियो। संगीत क्षेत्रका विविध पक्षलाई लिखित दस्तावेजका रूपमा अध्ययन गर्न पाए कला क्षेत्रको विकासमा थप सहजता हुने उनले बताइन्।

आफ्नो भनाइ राखिसकेपछि भट्टराईले कार्यक्रममा गीतसमेत प्रस्तुत गरिन्। उनले ‘तिमीले सोध्यौ सन्चै छौं भनी।।।’ बोलको गीत प्रस्तुत गर्दा कार्यक्रमका सहभागीहरू भावुक भएका थिए।
त्यसैगरी सम्मानित कलाकार कृष्णबहादुर गन्धर्वले पनि आफ्नो कला र गलालाई सम्झेर सम्मान गरेकोमा फाउन्डेसनप्रति आभार व्यक्त गरे। उनले नेपालका मौलिक कला, साहित्य तथा संगीतको राज्यले संरक्षण गर्दै कलाकारलाई विशेष सम्मान र पुरस्कार प्रदान गर्नुपर्नेमा जोड दिए।

नयाँ कार्यसमितिको प्रतिबद्धता
फाउन्डेसनले कला, साहित्य, संगीत तथा सामाजिक सद्भावका क्षेत्रमा गर्दै आएको कामलाई थप प्रभावकारी बनाउँदै आगामी कार्यदिशा तय गर्ने उद्देश्यले महाधिवेशन आयोजना गरिएको हो ।

नवनिर्वाचित कार्यसमितिले पनि फाउन्डेसनको उद्देश्यअनुसार कला, साहित्य, संगीत तथा सामाजिक सद्भावका क्षेत्रमा थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता जनाएको छ।

जावलाखेलस्थित रिडी लावन्जमा सम्पन्न महाधिवेशनको उद्घाटन सत्रको सञ्चालन गायत्री राना मगरले गरेकी थिइन् भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष तथा वरिष्ठ शास्त्रीय संगीत गायिका संगीता राना प्रधानले दिएकी थिइन्। कार्यक्रममा कलाकारहरूले विभिन्न गीत संगीत समेत प्रस्तुत गरेका थिए।


महाधिवेशनको दोस्रो सत्रमा नवनिर्वाचित कार्यसमिति चयन भएपछि संस्थाका ज्येष्ठ नागरिक तथा लेखक एवंम रिडि लावन्जका अध्यक्ष मानबहादुर बुढामगरले नवनिर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए। त्यस अवसरमा लेखक तथा गीतकार बुलु मुकारुङ, वरिष्ठ संगीतकार राजु सिंह र मानबहादुर बुढामगरलगायतले नयाँ कार्यसमितिलाई शुभकामना दिएका थिए।


नवनिर्वाचित कार्यसमिति चयन भएपछि फाउन्डेसनकी निवर्तमान अध्यक्ष तथा वरिष्ठ गायिका कविता आलेले नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै संस्थालाई आगामी दिनमा अझ उन्नति र प्रगतितर्फ अघि बढाउन आग्रह गरिन्।

उनले भनिन्, “चौतारीमा रोपिएको बर–पीपललाई मलजल गर्नु हामी सबैको कर्तव्य हो। सबैको साथ र सहयोग पाए संस्थाले सहज रूपमा सास फेर्नेछ र कला क्षेत्रमा धेरै मुनाहरू पलाउनेछन्।”
आफ्नो चारवर्षे कार्यकालमा सबै मिलेर संस्थाको हितमा काम गर्दै संस्थालाई थप उचाइमा पुर्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आलेले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिइन्।

कार्यक्रमको अन्त्यमा नवनिर्वाचित अध्यक्ष भुषन खरेलले संस्थाले आफूलाई गरिमामय पदमा नेतृत्व गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे। उनले आफ्नो कार्यकालमा संस्थाका अग्रजहरूको साथ, सहयोग, हौसला र प्रेरणासँगै आवश्यक आर्थिक सहयोगको समेत अपेक्षा गरे।

आफ्नो कार्यकाल नयाँ भएकाले आफूले सक्दो प्रयास गर्दै सबैलाई संस्थामा समेट्ने र फाउन्डेसनको उन्नति तथा प्रगतिका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। संस्थाले कार्यक्रममा मायाको चिनो प्रदान गरेको थियो । PC- ROMAN BUDHA MAGAR

फाउन्डेसनका नवनिर्वाचित अध्यक्ष भुषण खरेल एक ख्यातिप्राप्त नेपाली गीतकार तथा स्रष्टा हुन्। उनले विशेष गरी नेपाली आधुनिक गीतहरूका रचनाका लागि चिनिन्छन् । PC- ROMAN BUDHA MAGAR






















