• श्रावण २१ २०८३, बिहीबार

सांसदहरूले अबदेखि संसदमा जाँदा कालाे चस्मा लगाउन नपाउने

श्रावण २१ २०८३, बिहीबार

काठमाडाैं । अबदेखि प्रतिनिधि सभा बैठकमा सांसदहरूले कालो चस्मा लगाउन नपाउने भएका छन्।
सभामुख डोलप्रसाद अर्याल (डिपी) ले अबदेखि संसद बैठकमा कालो चस्मा लगाउन नमिल्ने भन्दै समयमै यो खबर प्रमुख सचेतक र सचेतकहरूले आ-आफ्नो दलका सांसदहरूसम्म पुर्‍याउन भनेका छन्।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख अर्यालले सांसदहरूले कालो चस्मा लगाउने गरेको विषयमा बारम्बार प्रश्न उठ्ने गरेकोले अबदेखि लगाउन नपाइने बताएका थिए।

प्रधानमन्त्री बालेन शाह, गृहमन्त्री सुधन गुरूङ, पूर्वाधार मन्त्री सुनिल लम्साल र केही सांसदहरू कालो चस्मा लगाएर संसद बैठकमा सहभागी हुने गर्छन्।

कार्यव्यवस्था परामर्श समिति बैठकमा सहभागी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले अबदेखि संसद बैठकमा सांसदहरू उपस्थित हुँदा कालो चस्मा लगाउन नपाइने जानकारी सभामुखबाट आएको हो।

‘कालो चस्मा लगाएको विषयमा बारम्बार प्रश्न उठिराखेको छ, अब चाहिँ सांसदहरूले संसद बैठकमा कालो चस्मा लगाउन भएन,’ सभामुखका भनाइ उद्धृत गर्दै उनले भनिन्, ‘यो कुरा प्रमुख सचेतक र सचेतकहरूले आफ्ना सांसदहरूलाई खबर गरिदिनुहोला।’

सभामुखले अबदेखि कालो चस्मा लगाएर संसद बैठकमा उपस्थित हुन नपाइने भनेपछि कांग्रेस प्रमुख सचेतक थापाले प्रधानमन्त्री र मन्त्रीहरू पनि कालो चस्मामै संसदमा उपस्थित हुने गरेकोले सबैलाई यो नियम लागू गर्न भनेकी थिइन्।

‘प्रधानमन्त्रीज्यू र मन्त्रीज्यूहरू नै कालो चस्मामा संसदमा उपस्थित हुने गर्नुभएको छ, उहाँहरूलाई सभामुखज्यूले भन्नुपर्‍यो,’ उनले भनिन्, ‘हामी हाम्रा सांसदहरूलाई अबदेखि कालो चस्मा नलगाउनुस् भनौंला।’
यसपछि सभामुख अर्यालले सत्तारूढ दल रास्वपा सचेतक प्रकाशचन्द्र परियारलाई यस विषयमा सरकारलाई पनि जानकारी गराउन आग्रह गरेका थिए। रास्वपा सचेतक परियारले संसद बैठकलाई मर्यादित बनाउने विषयमा कालो चस्माको प्रसंग पनि उठेको थियो।