• श्रावण १८ २०८३, सोमबार

कांग्रेस सांसदको पीए बन्न ५०० शब्दको ‘प्रतिबद्धता पत्र’ बुझाउनुपर्ने

श्रावण १८ २०८३, सोमबार

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले आफ्ना सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव (पीए) नियुक्तिसम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको दलको बैठकले ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ तर्जुमा गरी लागू गरेको हो ।

यस कार्यविधिअनुसार अब कांग्रेस सांसदका स्वकीय सचिव हुनका लागि न्यूनतम शैक्षिक योग्यतादेखि विशिष्ट सीपसम्मका कडा मापदण्डहरू पालना गर्नुपर्नेछ ।

कार्यविधिले स्वकीय सचिवका लागि न्यूनतम शैक्षिक योग्यता स्नातक उत्तीर्ण हुनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । विशेषगरी कानुन, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन विषय पढेकाहरूलाई प्राथमिकता दिइनेछ । नियुक्तिका लागि उमेर कम्तीमा २१ वर्ष पूरा भएको हुनुपर्नेछ ।

अबका स्वकीय सचिवहरू केवल प्रशासनिक सहयोगी मात्र नभई ‘प्रमुख सहकर्मी’का रूपमा रहनेछन् । उनीहरूमा संसदीय प्रक्रियाको ज्ञान, प्रतिवेदन तयार पार्ने क्षमता, कम्प्युटर तथा डिजिटल उपकरणको प्रयोग, सामाजिक सञ्जाल व्यवस्थापन र तथ्य जाँच गर्ने विशेष सीप हुनुपर्ने मापदण्ड तोकिएको छ ।

छनोट प्रक्रियालाई पारदर्शी बनाउन सम्बन्धित सांसदको सिफारिसमा बायोडाटा, नागरिकता र शैक्षिक प्रमाणपत्रका साथै कम्तीमा ५०० शब्दको ‘आफ्नो प्रतिबद्धता पत्र’ बुझाउनुपर्नेछ । सोही प्रतिबद्धताका आधारमा संसदीय दलले सचिवको अन्तिम छनोट गर्नेछ ।