• श्रावण १४ २०८३, बिहीबार

विराटनगरमा प्रदर्शनकारीले लगाए ‘बालेन सरकार’ विरुद्ध नाराबाजी

श्रावण १४ २०८३, बिहीबार

काठमाडौं । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेका प्रदर्शनकारीले ‘बालेन सरकार’विरुद्ध नाराबाजी गरेका छन् ।

विश्व हिन्दू परिषद्को अगुवाइमा विभिन्न हिन्दुवादी संघ संगठनका प्रतिनिधिहरू विरोध जुलुसमा सहभागी थिए ।
मेनरोडको हनुमान मन्दिरअगाडिबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालयको गेट अघिसम्म पुगेको थियो । त्यसक्रममा प्रदर्शनकारीले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्ने विषयमा सरकारको पहल नदेखिएको आरोप लगाएका थिए ।

प्रदर्शनकारीले ‘बालेन सरकार मुर्दावाद’ र ‘दोषीलाई कारबाही गर’ भन्दै नाराबाजी गरे । प्रदर्शन अघि बढ्न नदिन प्रशासन परिसर आसपास ब्यारिकेट खडा गरिएको थियो । अहिले विराटनगर क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ ।

आइतबार राति (साउन १०) मा सुनसरीको कप्तानगञ्जमा दुई फरक समुदायबीच भएको झडपमा एक युवाको मृत्यु भएपछि तराई–मधेसका विभिन्न जिल्लामा विरोध प्रदर्शन भइरहेका छन् ।

यसैबीच, हिन्दू सम्राट नेपाल जिल्ला कार्यसमिति मोरङले मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाई दोषीलाई कारबाही गर्न माग गरेको छ ।