• श्रावण १४ २०८३, बिहीबार

स्कुले विद्यार्थीको चन्द्रयान र रकेट

श्रावण १३ २०८३, बुधबार

नेपालमा नवप्रवद्र्धनको युग सुरू एको छ । विद्यालयका विद्यार्थी यसमा बढी सरिक छन् । विद्यालयका शिक्षकहरूको नवप्रवद्र्धन प्रतिको माया, आशा र लगाव पनि निकै उच्च रहेको छ ।

भर्खरै मात्र झापाको बिर्तामोडस्थित ग्रिनफिल्ड वर्ल्ड स्कुलका विद्यार्थीले चन्द्रयान र रकेटको हवाइ प्रदर्शन गरेर नेपाली नवप्रवद्र्धनको आकाशमा नयाँ रङ दिएका छन् । यो नै नेपालको विज्ञान र प्रविधिको क्षेत्रमा पछिल्लो आधुनिक हवाई प्रदर्शनी बन्न पुगेको छ ।

नवप्रद्र्धनका लागि विद्यालयले रकम विनियोजन गर्ने प्रक्रियाको थालनी पनि गरिसकेका छन् । यो विज्ञान विषयको थ्यौरी तथा व्यवहारिक अनुसनधान र प्रयोग पनि हो । यो पछिल्लो प्रवद्र्धन र प्रदर्शनीमा विद्यालयले करिब ४० लाखको लगानी गरेको छ ।

सफल उडान भरेका यी चन्द्रयान र रकेट ‘एरोबे रोबोटिक्स एन्ड आर्टिफिसियल इन्टेलिजेन्स ल्याब’ मा निर्माण गरिएका थिए । विद्यालयले विद्यार्थीको सिर्जनशील क्षमता विकास गर्न रोबोटिक्स, कोडिङ र स्वचालन प्रविधिजस्ता कक्षा सञ्चालन गरिरहेको छ । यो शिक्षाले व्यावहारिक सिपहरू समेटेर आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याउन ठूलो मद्दत गरिरहेको छ ।

विद्यालयको फराकिलो प्राङ्गण प्रदर्शनी स्थलमा परिणत हुँदा विद्यार्थी शिक्षक र सहभागी सबैमा हर्ष र आनन्दले सीमा नाघेको थियो । क्षणभरमै आकाशतिर सररर सोझिएका हवाइजहाज, हेलिकप्टर, रकेट र चन्द्रयानले अभूतपूर्व अनुभूति दिलाएका थिए । आज किताबका पानामा सीमित ज्ञान विभिन्न आकार लिएर आँखैसामु आकाशमा उडान भरिरहेको थियो ।

यस कार्यमा भारतको एरोबे कम्पनीको प्राविधिक सहकार्य थियो । यो वास्तवमा ‘एरोबे रोबोटिक्स’को प्रयोगात्मक अभ्यास र प्रदर्शनी थियो । अहिले विद्यालयको सानो र प्रारम्भिक प्रयोगशाला एक आधुनिक प्रयोगशालामा रूपान्तरण हुँदै गएको छ । यो नेपाल र नेपालीका लागि खुसीको कुरा हो ।